२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वुल्भ्ससँग हार्‍यो नेपाल

Despite Lokesh Bam's century Nepal lost to Ireland Wolves

काठमाडौं । आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपालको ‘ए’ टिम पराजित भएको छ। त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड वुल्भ्सविरूद्ध लोकेश बमले शतक प्रहार गरेपनि नेपाल ‘ए’ २१ रनले पराजित भएको हो।

आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ ले २०१ रनमात्रै बनाउन सक्यो। नेपालका लागि शतक हानेका लोकेशले ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १०६ रन बनाएका थिए।

त्यस्तै आरिफ शेखले १ चौका र ५ छक्का हानेर ४९ रन बनाए। लोकेश र आरिफको विकेटपछि कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन्। त्यसअघि कप्तान विनोद भण्डारीले १६ रन बनाएका थिए।

बलिङतर्फ आयरल्याण्ड वुल्भ्सका फियोन ह्यान्ड र म्याथ्यु हम्फ्रेजले ३/३ विकेट लिए भने म्याथ्यु फोस्टरले २ विकेट तथा थोमस मेइन गोभिन होइले एक/एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २२२ रन बनाएको थियो। पहिलो ओभरमै विकेट लिएको नेपालको त्यसपछि कमजोर बलिङ र फिल्डिङ गर्दा आयरल्याण्डले विशाल योगफल बनाउन सफल भएको थियो।

नेपाललाई दसौं ओभरमा मात्र दोस्रो विकेट प्राप्त भएको थियो। उक्त ओभरको अन्तिम बलमा सागर ढकालले आयरल्याण्ड वुल्भ्सका कारमिचेललाई एलबिडब्लु धरापमा पारेका थिए। कारमिचेलले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाएका थिए।

त्यसपछि ११ औं ओभरमा तेस्रो विकेटका रूपमा ओपनर पिटर मुर आउट भएका थिए। ४९ रन बनाएर खेलिरहेका उनी आरिफ शेखबाट बोल्ड हुँदा अर्धशतक बनाउनबाट चुकेका थिए। त्यसपछि कमलसिंह ऐरीले नै चौथो विकेट लिएका थिए।

उनले १५ औं ओभरको चौथो बलमा आयरल्याण्ड वुल्भ्स्सका स्टेफेन डोहनीलाई सागर ढकालबाट क्याच आउट गराए। डोहनी १६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाएर खेलिरहेका थिए।

१९ औं ओभरको पहिलो बलमा पुनः कमल ऐरीले विकेट लिए। उनले कप्तान नेइल रकलाई आउट गरेका थिए। रक २३ बलमा १ चौका र ३ छक्का प्रहार गरी ३८ रन बनाएर खेलिरहेका थिए। आयरल्याण्डका ग्यारेथ डेलानी ३० र ग्याबिन होय १८ रन बनाएर नटआउट रहे।

अन्तिम ओभरमा सागर ढकालले तीन छक्का र एक चौकासहित २३ रन खर्चिएका थिए। आजको प्लेइङ इलाभेनमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, रसिद खान, सागर ढकाल, कमलसिंह ऐरी र हेमन्त धामी थिए। नेपालले सिरिजको अर्को खेल भोलि खेल्नेछ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस