२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ब्राजिलमा कोकिनको क्याप्सुल निलेर नेपालमा दिसा गर्न आइपुग्दै तस्करी – भिडिओ

काठमाडौं। लागु औषध कोकिन तस्करीमा संलग्न गिरोहका दुई जना सदस्यलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । पक्राउ परेका ब्राजिलियन नागरिकहरूले कोकिन राखिएको क्याप्सुल निल्ने र पेटमा राखेर नेपालसम्म तस्करी गर्ने गरेको खुलेको हो । त्यो अबधिसम्म उनीहरुले अन्त कतै दिसा गर्दैन थिए । नेपालमा आएर दिसा गर्दथे र उक्त क्याप्सुल निकाल्थे ।

ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोसले यसरी कुल १ केजी ४५५ ग्राम कोकिन तस्करी गरेको पाइएको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । ‘अनुसन्धानको क्रममा निजहरू दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाई छिपाई गरी नेपाल ल्याएको खुल्न आएको छ’, उनले भने ।

विभिन्न मुलुकहरूबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्ने क्रममा प्रहरी उनीहरूसम्म पुग्न सफल भएको थियो । चैत १३ गते काठमाडौँको ठमेलको एक होटेलमा लारिसनले सुटकेस भित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले पनि लुकाएको थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ किलो ३९० ग्राम बरामद भएको थियो । यस्तै नेपाल प्रहरी अस्पतालमा परीक्षण गराउँदा लारिसनको पेटबाट अरु ६५ ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार बराबर भएको बताइएको छ । दुबै जनालाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू अन्तर्राष्ट्रिय लागूऔषध तस्करीमा आबद्ध गिरोहका सदस्यहरू भएको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस