२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जब राष्ट्रिय महिला आयोग मै ३० वर्षीया महिलाले विष सेवन गरिन् !

काठमाडौं । राष्ट्रिय महिला आयोग मै ३० वर्षीया महिलाले विष सेवन गरेकी छिन् । आफू हिंसामा परेको उजुरी लिएर गएकी एक महिलाले विष सेवन गरेकी हुन् । विश्वकर्मा थरकी ३० वर्षीया महिला आफ्नो श्रीमानले लामो समयदेखि हिंसा गरेको उजुरी लिएर राष्ट्रिय महिला आयोगमा न्यायको लागि गएकी थिइन् । चैत ४ गते श्रीमान, सासु नन्दसमेतले हिंसा गरेको उजुरी गरेकी उनले सोमबार आयोगमा भएको छलफलपछि विष सेवन गरेकी हुन् ।

राष्ट्रिय महिला आयोगमा उनीमाथि भएको हिंसाबारे श्रीमानसहित छलफल गराउने क्रममा उनले महिला आयोगमा घरेलु हिंसाको उजुरी गरेकै दिन चैत ४ गते जिल्ला अदालत दाङमा श्रीमानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको जानकारी पाएपछि उनले विष सेवन गरेर गम्भीर घाइते भएकी हुन् । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रिय महिला आयोगकी सरकारी वकिल उषा गजमेरले मनोसामाजिक परामर्शदता राखेर ३० वर्षीया महिलासँग छलफल गराउने क्रममा उनको श्रीमानले आफूले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराइसकेको जानकारी गराएका थिए ।

सरकारी वकिल गजमेरका अनुसार काठमाडौँ घर भएकी उनी र दाङका थापा थर भएका पुरुषले तीन वर्ष अगाडि काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ता गरेका थिए । काठमाडौँ भएपनि घरमा भने दलित भएका कारण प्रवेश नदिएको छलफलका क्रममा बताएकी वकिल गजमेरले जानकारी दिइन् ।

घरमा स्वीकार नगरेपछि श्रीमानसँग विवाद बढ्दै गएको जनाइएको छ । घरमा प्रवेश गर्न श्रीमान मात्रै नभएर सासू, नन्द र देवरले समेत नदिइ घरेलु हिंसा गरेको महिला आयोगमा उनले दिएको उजुरीमा भनिएको छ । सोमबार छलफलका क्रममा महिला आयोगले उनलाई अदालतमा मुद्दा परिसकेपछि आयोगले क्षेत्राधिकार मिचेर छलफल गराउन नसक्ने जानकारी दिएको वकिल गजमेरले बताइन् । त्यसपछि छलफलबाट निस्किएर खाद्य संस्थानको ट्वाइलेटभित्रबाट मेटासिट खाँदै निस्किएकी थिइन् ।

विष सेवन गरेपछि घाइते उनलाई तत्कालै आयोगले नै अस्पताल पुर्याएको गजमेरले जानकारी दिइन् । घाइते महिलाकी परिवारका एक सदस्यले भने आफूहरुलाई छोरीले विवाह गरेको जानकारी नै नदिएको बताइन् । हामीलाई त छोरीले विवाह गरेकै जानकारी थिएन, उनको एक परिवारका सदस्यले भनिन्, — हिजो आयोगमा छलफल छ भनेपछि मात्रै जानकारी भएको हो । तर, महिला आयोगमा भएको छलफलमा भने उनले आफू १५ वर्षको उमेर हुँदादेखि थापा थरका केटासँग परिचय भएको । पटक–पटक शारीरिक सम्पर्क पनि भएको र दुबैले एक अर्कासँग विवाह गर्ने निधो गरेपछि सहमतीमै काठमाडौँ जिल्ला अदालतमा विवाह गरेको जानकारी गराएकी थिइन् । उनीहरुबाट सन्तान भने जन्मिएको छैन । तर, केटाले घर नलगी काठमाडौँ नै राख्ने गरेको र सासु, देवर र नन्द मिलेर दलित भएको कारण घर छिर्न नदिँदा आफ्नो न्यायको लागि केही नबोलेको बताएकी वकिल गजमेरले जानकारी दिइन् ।’

 

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस