काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेपछि सुहाङ नेम्वाङलाई शुभकामना दिएका छन् । शुभकामना व्यक्त गर्दै सुहाङसँगको तस्बिर पोस्ट गरेर युवा सँगसँगै हिँड्नुपर्ने भावना व्यक्त गरेका छन् ।
उनले फेसबुकमा नेम्वाङसँगको तस्बिर साझा गर्दै उनलाई आफूले सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको उल्लेख गर्दै जितको शुभकामना पनि दिएका छन् । ‘युवा सँगसँगै !’, ओलीले लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ ।’
एमालेको सचिवालय बैठकले सुहाङलाई इलाम २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सुहाङ संविधान सभाका अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् ।