२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सीआईबीलाई बयान दिएपछि चौधरीको प्रतिक्रिया: ‘मेरो चरित्रको सर्टिफिकेट घाम जस्तै छर्लङ्ग छ’

८ चैत, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद एवं अर्बपति विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) मा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् ।

बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै चौधरीले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो । यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई र लगानीकर्तालाई विशुद्ध राखिनुपर्ने चौधरीको भनाइ छ । आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको बताउँदै उनले भने, ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरुले, नेपालका रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । म घाम जस्तै छर्लङ्ग हुँदाहुँदै राज्य सत्तामा आएकाहरुले राजनीतिकरण गरेको उनको दाबी छ । ’

आफू नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद भएको र आफ्नो भूमिका त्यही रुपमा अगाडि बढाएको चौधरीले बताए । सरकारको नाममा रहेको बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा विनोद चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नाममा गैरकानुनी रुपमा ल्याएको खुलेपछि विनोद चौधरी पनि अनुसन्धानमा तानिएका हुन् । सीआईबीले सांसद चौधरीमाथि अनुसन्धान भइरहेको औपचारिक जानकारी सभामुख देवराज घिमिरेलाई पत्र लेखेरै गराएको थियो । लगत्तै बिहीबार बिहान उनी सीआईबीको सम्पर्कमा आएका थिए । उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपछि सीआईबीले सरकारी वकिलको रोहबरमा बयान लिएको हो ।’

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस