२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बस दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौं ल्याउन विमानले नमानेपछि…

पोखरा । बागलुङको निसीखोलामा भएको बस दुर्घटनाका दुई जना गम्भीर घाइतेलाई यती एयरलाइन्सको विमानले काठमाडौं लैजान अस्वीकार गरेको घटनालाई लिएर आम नागरिकमा मत विभाजित भएको छन् । विमानले घाइते नबोक्ने भनेपछि आम नागरिकले आक्रोश व्यक्त गरिरहेका छन् ।

पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३७९ नम्बरको बस बागलुङको निसीखोलामा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका थिए भने २६ जना घाइते भएका थिए। त्यसमध्ये रुकुम पश्चिमकी लक्ष्मी पुन र सविना पुनलाई थप उपचारका लागि काठमाडौं लैजान धौलागिरी प्रादेशिक अस्पतालले रिफर गरेको थियो । दुई जना घाइते र उनीहरुका दुई जना आफन्तले पोखराबाट काठमाडौं उड्ने यती एयरलाइन्सको २ः ५५ बजेको उडानको टिकट काटेका थिए । तर एयरलाइन्सले बिरामीको अवस्था गम्भीर रहेको भन्दै लैजान नसक्ने जानकारी गराएको घाइतेका आफन्त नवचन्द्र वलीले बताए ।

‘घाइतेको अवस्था टिकट काट्ने बेलामै भनेका हौं । बस दुर्घटनाको बिरामी हो भनेकै हो, तर बिरामी लैजान नसकिने भन्दै फर्काइदिएपछि अलपत्र परियो,’ आफन्त वलीले भने । काठमाडौं जाने प्रतीक्षामा घाइते र उनीहरुका आफन्त दुईवटा एम्बुलेन्समा ३ घण्टासम्म पोखरा विमानस्थल बाहिर बसेका थिए । पोखराबाट यती एयरको एउटा विमानले घाइतेलाई छाडेर उडेपछि काठमाडौंबाट आउने अर्को विमान पनि कुरेका थिए । तर यतीकै दोस्रो विमानले पनि काठमाडौं लैजान नमानेपछि घाइतेहरुलाई पोखराकै मणिपाल शिक्षण अस्पतालमा भर्ना गरियो । तीन घण्टासम्म अस्पताल विहिन समेत हुँदा उनीहरुको स्वास्थ्य अवस्था विग्रियो ।

‘मणिपालमा ल्याउँदा डाक्टरले घाइतेको अवस्था र सडकका कारण एम्बुलेन्समा काठमाडौं लैजान सक्ने अवस्था छैन भन्नुभयो’, आफन्त बेबिना पुनमगरले भनिन् । घाइतेहरुको मेरुदण्डमा समस्या छ । यती एयरलाइन्सका पोखरा प्रतिनिधि राम लामिछानेले घाइतेका आफन्त र टिकट काट्ने कर्मचारीबीच सही समन्वय नभएका कारण अप्ठेरो परेको बताए । ह्वीलचेयरमा समेत राख्न नसकिने र स्ट्रेचर नै चाहिने बिरामी भएकाले काठमाडौं लैजान नसकिएको उनको भनाइ छ । बिरामीका आफन्तले भने पहिले अर्को जहाजमा लैजानुस्, हाम्रोमा सिट छैन भनेर फर्काएको बताए । ‘४ जनाको टिकट काटिसकेपछि अर्को जहाजमै भए पनि घाइतेलाई काठमाडौं लैजाने जिम्मेवारी हो कि होइन’, घाइतेका एक आफन्तले भने, ‘३ घण्टासम्म विमानस्थल बाहिर अलपत्र हुँदा घाइते तलमाथि भएको भए को जिम्मेवार हुन्थ्यो ?’ अब बिग्रिएको स्वास्थ्यको जिम्मेवार को हुन्छ ?

 

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस