२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छोरीको मृत्युपछि माइतीपक्षले घरमै लगाइदियो आगो, जलेर सासूससुराको मृत्यु

काठमाडौं । छोरीको मृत्युपछि माइतीपक्षले घरमै आगो लगाइदिएका छन् । आगोलागीबाट सासूससुराको मृत्यु भएको छ । घटना भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा नवविवाहित महिलाको मृत्युपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ । सोमबार प्रयागराजको मुट्ठीगञ्ज क्षेत्रमा नवविवाहित आंशिका केसरवानीको शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो । धुमनगञ्जको झलवा निवासी आंशिकाको विवाह मुट्ठीगञ्जका व्यापारी अंशुसँग भएको थियो ।

आंशिकाको मृत्युको खबर सुनेपछि उनको घरमा पुगेका माइती पक्षले घरमै आगो लगाइदिएको हो । आगजनीमा आंशिकाका सासूससुराको मृत्यु भएको छ । दाइजोको निहुँमा आंशिकालाई यातना दिइएको माइती पक्षको आरोप छ । आगजनी गर्नुअघि दुई पक्षबिच विवाद र झडपसमेत भएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रयागराजका डीसीपी दीपक भूकरका अनुसार प्रहरीलाई सोमबार राति ११ बजे आंशिकाले आत्महत्या गरेको सूचना आएको थियो । प्रहरी घटनास्थलमा पुग्दा दुई पक्षबिच विवाद भइरहेको बताइन्छ । तर यस बिचमै माइती पक्षले घरको ढोका बाहिरबाट बन्द गरेर आगो लगाइदिएको थियो । आगो नियन्त्रणमा लिइसकेपछि भित्र हेर्दा दुई जनाको शव फेला परेको प्रहरीको भनाइ छ । मृतकहरु आंशिकाकै सासूससुरा रहेको प्रहरीले जनाएको छ । दुवैको शव परीक्षणका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस