२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युक्रेनद्वारा आफ्नो कब्जामा रहेका पाँच नेपाली रुसी सैनिक सार्वजनिक [ भिडियोसहित ]

काठमाडौं । युक्रेनले पाँच जना नेपालीसहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ जना रुसी सैनिकलाई सार्वजनिक गरेको छ । शुक्रबार आफ्नो कब्जामा रहेका पाँच जना नेपालीलाई सार्वजनिक गर्दै युक्रेनले रुसी सेनामा आफ्ना नागरिकको भर्ना रोक्न नेपालसहितका देशलाई आग्रह गरेको हो ।

यसरी सार्वजनिक हुने नेपालीहरुमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन रहेका छन् । अर्का एक नेपालीको भने पहिचान खुलेको छैन । उनीहरूलाई सैन्य पोसाकमै सार्वजनिक गरिएको थियो।

समाचार संस्था रोयटर्सका अनुसार युक्रेनले सार्वजनिक गरेका अन्य युद्धबन्दीहरू सोमालिय, क्युवा र सेरेआलियोनका रहेका छन् । युद्ध बन्दीहरु सार्वजनिक गर्दै युक्रेनका अधिकारीहरुले मस्कोले युद्धमा भाडाका सैनिकहरु प्रयोग गरेको र आफूले त्यसको कडा प्रतिवाद गर्ने बताएका थिए ।

‘कब्जामा लिइएका नागरिकहरू सार्वजनिक गरेर हामीले थप उग्र र प्रभावकारी कदम चाल्न आवश्यक भइसकेको सन्देश दिएका हौँ जसकारण अझै दशौँ हजार मानिसहरूलाई विपक्षीहरूले फकाएर भर्ती गर्न नपाउन्’ युद्धबन्दी हेर्ने युक्रेनी अधिकारी पेट्रो यात्सेन्कोलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

रुसले न्यून आय भएका देशका नागरिकलाई युद्धको अग्रमोर्चामा खटाएको युक्रेनको आरोप छ । अहिलेसम्म रुसी सेनामा भर्ना भएका १९ जना नेपालीको मृत्यु भएको छ । नेपाल सरकारले रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता गराउन कूटनीतिक प्रयास जारी राखेको छ ।

यस्तै रुसी सेनामा ज्यान गुमाएका परिवारलाई रुसी सरकारबाट क्षतिपुर्ती उपलब्ध गराउन, घाइतेको उपचार गर्न र त्यहाँ कार्यरत नेपालीहरूलाई फिर्ता पठाउन रुसी सरकारलाई पुन अनुरोध गरिएको समेत परराष्ट्रले बताएको छ । अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा नेपाल सरकारले पहल गरे पनि रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम अझै रोकिएको छैन ।

 

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस