२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको बिजुली प्रतियुनिट ८.६ रुपैयाँमा किन्न बंगलादेश तयार

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्ने प्रक्रियागत अघि बढेको नेपाल विद्युत प्राधिकरणले दाबी गरेको छ। बंगलादेश प्रतियुनिट ८.६ रुपैयाँभन्दा बढीमा नेपालबाट जलविद्युत् आयात गर्न सहमत भएको र नेपालको विद्युत ब्यापार प्रक्रिया नयाँ चरणमा प्रवेश हुने प्राधिकरणको दाबी छ।

‘बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)’ ले गत साता उक्त दरमा नेपालबाट जलविद्युत् आयात गर्न सकिने टुंगो लगाएको छ। बंगलादेशले नेपालसग विद्युत खरिदको दर तयार गरेको र केही दिनमा त्यहाँको मन्त्रिपरिषद्‌बाट पारित गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्‌बाट पारित भएपछि नेपालसँग सम्झौता हुनेछ।

बंगलादेशले नेपालको जलविद्युत् प्रतियुनिट ५ अमेरिकी सेन्ट (६.६४ रुपैयाँ) मा खरिद गर्न सकिने बताउँदै आएको थियो भने प्राधिकरणले प्रतियुनिट ७ सेन्ट (९.२९ रुपैयाँ) भन्दै आएको थियो। यी दुवै दरलाई आधार मान्दै बंगलादेश प्रतियुनिट ६.५ अमेरिकी सेन्ट (८.६३३ रुपैयाँ) मा खरिद गर्न तयार भएको बंगलादेशका पत्रिकाहरुले पनि समाचारमा उल्लेख गरेका छन्।

बंगलादेशले खरिद गर्न चाहेको प्रतियुनिट दर अहिले भारतमा निर्यात भइरहेको भन्दा २० पैसा महँगो हो। प्राधिकरणले भारतसँग प्रतियुनिट ८.४० रुपैयाँ (भारु ५.२५) मा जलविद्युत्को व्यापार गरिरहेको छ। उसले स्वदेशी निजी क्षेत्रबाट भने हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्दै आएको छ।

बंगलादेशका उच्च अधिकारीहरूका अनुसार उक्त खरिद दरमा सबै पक्षको सहमति भइसकेको छ। यसै विषयमा छलफल गर्न फागुन दोस्रो साता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोली बंगलादेश गएको थियो। सोही क्रममा दर निर्धारण भएको पनि जनाइएको छ।

आयात दरमा सम्झौता भएपछि नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्ने सम्बन्धमा चाँडै नै नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुने अपेक्षा गरिएको छ। साथै, नेपालले बंगलादेश विद्युत् निर्यात गर्न २४ मेगावाटको त्रिशूली र १६ मेगावाट अन्यबाट गरी ४० मेगावाट प्रस्ताव गरेको छ।

उक्त परिमाणको विद्युत् ढल्केबर–मुजफ्फरपुर नेपाल–भारत सीमापार प्रसारण लाइन हुँदै भारत–बंगलादेशबीचको लाइन बहरामपुर–भेरामराबाट निर्यात हुनेछ। यस विषयमा भारतले सहमति दिइसको छ । नेपालले मध्यकालीन अवधि (५ वर्ष) का लागि बंगलादेशमा विद्युत् निर्यात गर्ने प्रस्ताव पनि गरेको छ।

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस