२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताको हातमा, अहिलेको निराशालाई चिर्ने विषय समेटिए

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाइएको छ । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बुझाइएको कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौती समाधान,आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ । उक्त मस्यौदाको शीर्षक ‘पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ राखिएको छ । यसमा १३ वटा बुँदाहरू रहेका छन् ।

‘मस्यौदामा अहिलेको निराशालाई चिर्ने कुरा, आर्थिक शिथिलतालाई अन्त्य गर्ने कुरा, वित्तीय सुशासन कायम गर्ने, छरितो सेवा प्रवाह गर्ने कुरा, रोजगारी सिर्जना गर्ने कुरा, शिक्षा स्वास्थ्यका कुरा, भौतिक पूर्वाधारका कुराहरू, भूमि व्यवस्थापनलगायतका विषयहरू छन्,’ माओवादीका उपमहासचिव जनार्दन शर्माले बताए । कार्यदलले तयार गरेको मस्यौदालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र रास्वपा सभापति रवि लामिछानेले बुझेका छन् । अब मस्यौदालाई शीर्ष नेताहरू अध्ययन गर्नेछन् । अध्ययन गरेर आवश्यक परिमार्जन गरेपछि यसलाई आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस