२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्ता प्रमाणले पक्राउ परे पूर्वउपराष्ट्रपति पुत्र दिपेश: यो सुईरो गृहमन्त्री रवि लामिछाने तिरपनि फर्किएला ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सामान्य सोधपुछ गरेर छोडेको सात महीनापछि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन्। दिपेश पक्राउ पर्नुमा सात महीना अघिकै घटना जोडिन्छ। साढे ६० किलोग्राम सुन तस्करी प्रकरणमा दावा छिरिङ पक्राउ परेपछि दिपेश पनि शंकाको घेरामा परेका थिए।

पुर्पक्षका लागि थुनामा रहेका दावासँग दीपेशको बाक्लो उठबस देखिएको थियो। गत साउन १४ गते दावा पक्राउ परे लगत्तै सीआईबीले दिपेशलाई बोलाएको थियो। त्यतिवेला भने सामान्य सोधपुछ गरेर छोडिदिएको थियो। सीआईबीमा गरेको कागजमा अमला रोकाको ठमेलमा रहेको होटल भियनामा रोल्पादेखि आएका कार्यकर्ता राख्नुपर्ने भएकाले सम्पर्क हुने गरेको दिपेशले बताएका छन्। कागजमा अमलासँग कारोबार नभएको दाबी गरेका थिए। अमला सुन तस्करीमा पक्राउ परेका दाबाकी पत्नी हुन्। तर चिनियाँ व्यापारीसहित अमलासँग दीपेश हेलिकोप्टरमा गोसाइँकुण्ड गएको तथ्य मिडियाले ल्याएको थियो । २०७६ माघ १ गते अमला र दीपेश तीन जना चिनियाँसहित मनाङ एअरको हेलिकोप्टरमा गोसाइँकुण्ड गएका थिए। काठमाडौंको छङफङ होटलमा अमलासँग साझेदार रहेका चु जिलियाङ पनि गोसाइकुण्ड भ्रमणमा थिए। होटलमा दावा, अमला, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिकहरू जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ साझेदार छन्। यो होटल ३० करोड रुपैयाँ चुक्ता पूँजीसहित २०७४ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको कागजातबाट खुल्छ।

गत साउनमा दावा पक्राउ परेको भोलिपल्ट समेत अमलाले पूर्व उपराष्ट्रपति पुनलाई भेटेको भिडिओ उनकी बहिनी नाता पर्ने बिन्दु मगरले फेसबूक रिलमा राखेकी थिइन्। यी घटनाक्रमले दावा–अमला गिरोहसँग दीपेशको लामो समयदेखि साँठगाँठ रहेको समेत खुलाउँछ। दीपेश नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का महासचिव समेत हुन्। उनले सीआईबीलाई नियमित चलाउने मोबाइलको सट्टा अर्कै मोबाइल दिएका थिए। मोबाइल परीक्षण गर्दा एउटा पनि फोटो भेटिएको थिएन। मोबाइलमा डेटा नभेटिएको वहानामा दीपेशले उन्मुक्ति पाएका थिए।

सहकारी ठगीमा समेत दीपेश विरूद्ध प्रहरीमा उजुरी परेको छ। बुटवलको सुप्रीम बचत तथा ऋण सहकारीमा जीबी राई अध्यक्ष हुँदा दीपेश सचिव थिए। सहकारीको पैसा राई, दीपेश सहितले अपचलन गरेको आरोप छ। त्यस्तै, पोखराको सूर्यदर्शन सहकारीमा दीपेशले पुलेसो कर्जा लिँदा पनि अनियमितता गरेको आरोप छ। उनी सूर्यदर्शन सहकारी सदस्य थिएनन्। सदस्य नभएका व्यक्तिलाई ऋण दिन पाइँदैन। तर, जीबी राईसँगको साँठगाँठमा ऋण लिएका थिए। दिपेशकै शैलीबाट गृहमन्त्री रवि लामिछानेले पनि सूर्यदर्शन सहकारीबाट ऋण लिएका थिए। गृहमन्त्री विरूद्ध त पोखरामा जोहरी नै परेको छ। नेपाली कांग्रेसले आफ्नै विरुद्ध जाहेरी परे पनि लामिछानेले स्वार्थ बाझिने मन्त्रालय सम्हालेको भन्दै संसद् अवरुद्ध पारिरहेको छ। यही नेक्शसले दिपेश पक्राउ परेका छन् । रवि पक्राउ गर्ने संगठन नेपाल प्रहरीसहित समग्र कानून कार्यन्वयन गर्ने निकाय गृहमन्त्रालयको कमाण्डर छन् ।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस