२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दूध किसानलाई भुक्तानी गर्न तत्काल रकम निकासा गर्दै अर्थ मन्त्रालय

२ चैत, काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान (डीडीसी) लाई रकम भुक्तानी दिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्कालै दूध किसानको बक्यौता भुक्तानी हुने गरी रकम निकासा गर्न निर्देशन दिएका हुन् । हाल रकम भुक्तानी नपाएको भन्दै देशभरिका किसान आन्दोलित छन् ।

अहिले डीडीसीले दुग्ध किसानलाई १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी भएको डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बताए । तर, निजी डेरीहरू समेतबाट किसानले करिब ५ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ । डीडीसीले किसानको रकम भुक्तानी गर्न तत्काल ३० करोड रुपैयाँ दिन ६ महिनाअघि कृषि मन्त्रालयमा अनुरोध गरी पठाएको थियो । कृषिले सोही अनुसार अर्थ मन्त्रालयमा रकम निकासा गर्न अनुरोध गरेको थियो ।

अर्थबाट रकम आयो भने त्यो रकम डीडीसीलाई सिधै दूध उपलब्ध गराउने किसानलाई भुक्तानी सुरु गर्ने उनले जानकारी दिए । ‘बाँकी रकम भने हामीसँग भएका उत्पादन बिक्री गरी भुक्तानी गरिने छ,’ महाप्रबन्धक झाले भने । डीडीसीसँग अहिले पाउडर दूध, घिउ, बटरलगायत १ अर्ब २० करोड मूल्यबराबरको समान मौज्दात रहेको पनि उनले जानकारी दिए । तर, अर्थले रकम अभाव कारण देखाउँदै भुक्तानी दिएको थिएन । कृषि मन्त्रालयलाई यसअघि विनियोजन गरेकै बजेटमध्ये खर्च नभएको रकम फिर्ता (सरेन्डर) गर्न लगाएर डीडीसीलाई रकम निकासा दिने तयारी भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस