२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै कांग्रेसद्वारा संसदको अर्को बैठकपनि अवरुद्ध

२ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।

तर, सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन संशोधन विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न गृहमन्त्री लामिछानेलाई समय दिएपछि कांग्रेसले अवरोध गरेको थियो । त्यसपछि सभामुख घिमिरेले राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुसँग सामूहिक र एक्ला एकर्ल संवाद गरे । गृहमन्त्री लामिछानेले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची हटाए संसद चल्न दिने कांग्रेसको भनाइ थियो । तर, सत्तारुढ दलहरु यस्तो अभ्यास गर्न नहुने अडान राखे ।

दलहरुबीच कुरा नमिलेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक दुई घण्टापछि पुनः बसेको थियो । दोस्रो बैठकमा पनि कांग्रेसले अवरोध गर्‍यो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरे । तर, सभामुख घिमिरेले कांग्रेसको अवरोध वेवास्ता गर्दै गृहमन्त्री लामिछानेलाई राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएपछि कांग्रेस सांसदहरुले नारावाजी गरेका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे, सहकारी ठग्न पाइँदैन्, गृहमन्त्री राजीनामा दे’ भनी नारा लगाएका थिए । कांग्रेस सांसदहरुले वेलमा पुगेर नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि बैठक स्थगित गरिदिएका छन् ।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस