१ चैत, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा पुगेर बिहीबार प्रतिवेदन बुझाएको आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले बताए ।
विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागि रहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो । त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।
आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषण लगायत गरेर केही महत्वपूर्ण सिफारिसहरु सरकारलाई गरेको आचार्यले बताए । उनले विषयवस्तुहरुबारे भने खुलाएनन् । आयोगका सदस्यहरुले विभिन्न सीमा नाकामा गएर स्थलगत अध्ययन समेत गरेको थियो ।