२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महाशिवरात्रिका अवसरमा पाल्पाको सिद्धबाबामा दर्शनार्थीको घुइँचो

बुटवल । चालीस हजार बढी दर्शनार्थी आउने अपेक्षा गरिएको पाल्पाको सिद्धबाबा मन्दिरमा भक्तजनलाई सहज पूजाको लागि टोकनको व्यवस्था गरिएको छ। शुक्रबार महाशिवरात्रिको पूजाका लागि दर्शनार्थीको ठूलो भीड हुने भएकोले पूजाको सहज व्यवस्थापनको लागि सिद्धबाबा मन्दिर बिकास समितिले टोकनको व्यवस्था गरेको हो।

टोकनको व्यवस्था गरेपछि पूजाका लागि एकैपटक मन्दिर परिसरमा भिड नहुने र आफ्नो पालोमा मात्र मन्दिरको प्रवेशद्वारमा पुगि पूजा गर्न सहज हुने अपेक्षा समितिको छ। बुटवल र पाल्पाको सिमामा रहेको सिद्धबाबा मन्दिरमा यसक्षेत्रमा सबैभन्दा बढी आस्था र बिश्वासका साथ दर्शनार्थी पुग्ने गर्छन् ।

मन्दिर बिकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले महाशिवरात्रीको अवसरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको बताए। भक्तजनको पूजा व्यवस्थापनका सिद्धबाबाको निःशुल्क बस बाहेक बुटवलको योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर न्यून शुल्कमा यातायात उपलब्ध गराउने अध्यक्ष शेरचनले जानकारी दिए।

महाशिवरात्री पूजाको लागि आज बिहान साढे तीन बजेदेखि नै दर्शनार्थीको भिड लागेको छ। अन्य समयभन्दा भक्तजनको भिड बढी हुने भएका कारण प्रहरी चौकी दोभानसँग समन्वय गरी तीन दर्जन बढी सुरक्षाकर्मी, स्थानीय युवा तथा सामाजिक संघ संस्थाबाट युवाहरूलाई स्वयं सेवकका रुपमा खटाइएको सचिव अरबिन्द पाण्डेले जानकारी दिए।

पश्चिम नेपालकै पशुपतिको रूपमा विकास गर्ने लक्ष्य राखिएको सिद्धबाबा मन्दिरमा भक्तजनलाई पूजापाठका लागि सकेसम्म सहज हुने गरी व्यवस्था मिलाउने प्रयास गरिएको पाण्डेले जानकारी दिए। हरेक साताको सनिवार र सोमबार मात्र १० देखि १५ हजार सम्म दर्शनार्थीले दर्शन तथा पूजा गर्ने मन्दिरमा वार्षिक १० लाख बढि दर्शनको लागि पुग्ने गर्छन्।

 

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस