२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमै १३०० को मिर्गौला र २२ जनाको कलेजो प्रत्यारोपण गर्ने डाक्टर श्रेष्ठ, ९९ प्रतिशत सफल अप्रेशन

Dr. Pukar Chandra Shrestha

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो । भक्तपुरका बलराम नागालाई उनकी ४२ बर्सिया दिदीले कलेजो दिई कलेजो प्रत्यारोपणको सुरुवात भएको थियो । त्यसपछि हालसम्म २२ पटक कलेजो प्रत्यारोपण भएको केन्द्रले जनाएको छ ।

नेपालमै सबैभन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने केन्द्र समेत रहेको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा हालसम्म १ हजार २१२ जनाको मिर्गौला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपण भएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ पनि नेपालमै सबैभन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक हुन् । उनले नेपालमा हालसम्म करिब १ हजार ३ सय जनामा मिर्गौला प्रत्यारोपण गराएका छन् । यस वर्ष मात्रै केन्द्रमा २ सय जनाको मिर्गौला प्रत्यारोपण र १४ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । संसारमै सबै भन्दा सस्तो शुल्कमा सबैभन्दा जटिल मानिएको कलेजो प्रत्यारोपणमा केन्द्रलाई ९० प्रतिशतभन्दा बढी सफलता मिलेको छ भने मिर्गौला प्रत्यारोपणमा ९९ प्रतिशतभन्दा बढी सफलता मिलेको केन्द्रले जनाएको छ ।

२०७३ मङ्सिर २२ गते दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो । त्यसपछि भारतका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा कलेजो प्रत्यारोपणले निरन्तरता पाएकामा विगत केही समयदेखि भारतीय चिकित्सकको प्राविधिक सहयोग न्यून रहेको भए पनि नेपाली डाक्टरहरूकै मिहेनतमा प्रत्यारोपण भइरहेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला तथा कलेजो प्रत्यारोपण मात्र नभई अंगदान सम्बन्धी व्यापक प्रचार प्रसार तथा देश भरी डायलाइसिस बिस्तार गर्न सहयोग पु–याउनुका साथै सातै प्रदेशका सरकारी स्वास्थ संस्थामा प्रत्यारोपण सेवा बिस्तार गर्ने तयारी गरेको छ । केन्द्रको प्राविधिक सहयोगमा गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठा हेटौँडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै मधेस प्रदेशको वीरञ्जमा समेत प्रत्यारोपणका लागि तयारी भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जनाएका छन् ।

श्रेष्ठले बेलायतमा प्रत्यारोपणसम्बन्धी ६ वर्षको तालिम लिएका छन् । बेलायतमै प्याङक्रियाज, कलेजो र मिर्गौला प्रत्यारोपणमा दखलता हासिल गरेर उनी नेपाल फर्किए । कलेजो प्रत्यारोापण गरी उनले प्रत्यारोपण सेवाको सुरुवात त्यही गरेका थिए । प्रत्यारोपणमा कलेजो प्रत्यारोपणलाई सबैभन्दा जटिल र जोखिमपूर्ण मानिन्छ । जब उनले प्रत्यारोपणमा दक्षता हासिल गरे, त्यसपछि नेपाल फर्कने सोच बनाए ।

बेलायत गएर प्रत्यारोपण सम्बन्धि तालिम लिनुको प्रमुख उद्देश्य नै नेपालमा फर्किएर प्रत्यारोपण सेवालाई स्थापित र विस्तार गर्नु थियो । सोही लक्ष्य अनुरुप उनी नेपाल फर्किए । उनी फर्कदा नेपालमा प्रत्यारोपण सेवा सुरु त भएको थियो तर गति लिएको थिएन । डा. पुकारचन्द्र श्रेष्ठलाई कछुवा गतिमा रहेको प्रत्यारोपण सेवालाई धेरैभन्दा धेरै बिरामीमाझ पुर्‍याउनु थियो । नेपालमा प्रत्यारोपणको सेवाको इतिहास हेर्दा निजी अस्पतालमा सन् १९९८ भएको देखिन्छ ।

सन् २००४ मा वीर र २००८ मा शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो । प्रत्यारोपण सेवा ओझेलमा परेको थियो । बेलायतबाट नेपाल फर्किएपछि उनले वीर अस्पतालमा प्रत्यारोपण सर्जनका रुपमा काम गरे । त्यतिबेला वीरमा प्रत्यारोपणका लागि पूर्वाधार, स्रोत, साधन, जनशक्ति नहुँदा प्रत्यारोपण सेवा कछुवा गतिमा थियो । त्यसपछि निरन्तर प्रयासबाट भक्तपुर अस्पतालको खाली जग्गामा सन् २०१२ मा अंग प्रत्यारोपण केन्द्रको स्थापना भयो । केन्द्रको पहिलो कार्यकारी निर्देशकका रुपमा उनी नै नियुक्त भए । हालपनि उनकै नेतृत्वमा छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस