२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबै मन्त्रीहरूको शपथ आज साँझ ५ बजे तय, को–को बन्दैछन मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी, नेपाल (जसपा), नेकपा एकिकृत समाजवादी (नेकपा एस) लगायत सत्ता साझेदार दलहरुले पाउने भागबण्डा टुंगिएपछि मन्त्रीहरुकोपनि नाम टुंग्याएका छन् । बुधवार टुंगिएको भागबण्डाअनुसार माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्नेछन् ।

माओवादीबाटै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने तय भएको छ । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।

एमालेले रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने भएको छ । महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउनेछन् । पदम गिरी यसअघि नै विना विभागीय मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ ।

एमालेबाट दामोदार भण्डारी, हरि उप्रेती, राजेन्द्र राई, ज्वालाकुमारी साह र भगवती चौधरी पनि मन्त्री बन्ने तय भएको छ । उनीहरूले पाउने मन्त्रालय यकिन हुन बाँकी छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने पक्का भएको नेताहरूले बताएका छन् । त्यस्तै सपथ लिइसकेका उपाध्यक्ष डीपी अर्याल श्रम मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको नेताहरुले बताएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट पनि २ मन्त्री बन्ने बताइएको छ । समाजवादीले मन्त्रीको नाम भने टुंगो लगाएको छैन । जसपालेपनि अब केही बेरमा मन्त्रीको नामावली प्रधानमन्त्रीलाई बुझाउँदैछ । नवनिर्वाचित मन्त्रीहरूको शपथ साँझ ५ बजे राष्ट्रपति भवनमा तय भएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस