२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

को हुन भगवती चौधरी ?

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले पदबहाली गरेकी छन् । बुधबार मन्त्रीको शपथपछि मन्त्री चौधरी पदबहालीका लागि मन्त्रालय पुगेकी थिइन् ।पदबहाली गर्दै मन्त्री चौधरीले जेयष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई सामाजिक र धार्मिक विकासका कार्यमा उपयोग गरी उनीहरुको जीवन यापनलाई सहज, सुरक्षीत र मर्यादित बनाउने बताएकी छन् ।राज्यले दिने सेवासुविधा, वृद्धभत्तालाई निरन्तरता दिई ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई सामाजिक तथा धार्मिक विकासका कार्यमा उपयोग गरी उनीहरुको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउन अघि बढ्ने उनले प्रतिबद्धता जनाइन्।

भगवती चौधरी २०७० सालको संविधानसभा निर्वाचनमा पनि विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् । त्यसेबला ३६२ मतको अन्तरले उनी गच्छदारसँग पराजित भएकी थिइन् । पराजित भएपछि उनले गच्छदारले राज्य संयन्त्रको प्रयोग गर्दै आफ्ना प्रतिनिधिलाई मतगणनास्थलबाट बाहिर निकालेर एकलौटी मत गनेर आफू विजयी भएको घोषणा गरेको आरोप लगाएकी थिइन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पूर्व वनराज्यमन्त्री समेत हुन्। यस अगि बनेको सरकारमा समेत चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिइन् सरकार गठन भएको २ महिना नबित्दै प्रचण्ड ले गताबंधन परिवर्तन गरेपछि एमाले मन्त्रीहरुले रजिनाम गरेर बाहिरिएका थिए। सवारी दुर्घटनामा ८ वर्ष पहिले श्रीमान् दिनेश चौधरीको मृत्यु भएपछि उनी अहिले एकल महिलाको रुमा बस्दै आएकी छिन् । भगवतीका हजुरबुवा कुमहरलाल चौधरी वडाध्यक्ष थिए । बुवा डेमोक्र्याटिकका समर्थक भएकाले भगवतीलाई समाजसेवा र राजनीतिमा प्रवेश गर्न सहज भयो । उनी आफ्नो टोलमा क्याम्पस जाने पहिलो महिला भएको सम्झिन्छिन् ।महेन्द्र मोरङ क्याम्पसमा ०४६ सालको जनआन्दोलनमा भाग लिएकी उनले ०४८ सालमा पार्टीको सदस्यता लिएकी थिइन् ।

सुनसरीमा फरवार्ड नामक लघुवित्त संस्था स्थापना गरेर सयौं महिलालाई रोजगारी दिएकी भगवतीले गच्छदारले सरकारमा बसेर २० वर्षमा गर्न नसकेको काम ५ वर्षमा गरेर देखाउने बताउँदै आएकी छन् ।

यसरी गर्थिन् चौधरी भाषण
बहालवाला उपप्रधानमन्त्रीसँग थोरै मतान्तरले हारेकी भगवती चौधरीले आफ्नो चुनावी सभामा गच्छदारसँग जनतासँग पुग्ने चुनावी एजेण्डा नै नपाएको बताएकी थिइन् ।
सुनसरीको बर्जु र सोनापुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले गच्छदारले विकासको एजेन्डा नपाएर बाख्रा पालनका लागि ऋण दिँदै हिँड््ने एकल महिलाले नेतृत्व गर्न सक्दैन भनेर हिँडेको भन्दै भनेकी थिइन्, “देशको उपप्रधानमन्त्रीलाई हेक्का हुनुपर्ने हो, यो देशको राष्ट्रपति पनि एकल महिला हुनुहुन्छ । प्रधानन्यायाधिश पनि महिलाले कुशलतापूर्वक चलाइसक्नु भएको छ । सभामुख पनि महिला भइसकेको देश हो नेपाल । महिलालाई इज्जत नगर्नेले ५१ प्रतिशत महिलालाई कसरी न्याय दिन सक्छ ?”

यस्ता थिए चौधरीका चुनावी एजेण्डा
युवालाई स्वरोजगार बनाउने, सुनसरी क्षेत्र नम्बर ३ मा प्राविधिक शिक्षालय स्थापना गरेर जनताका छोराछोरीले आफ्नै घरको खाना खाएर प्राविधिक शिक्षा अध्यन गर्ने वातावरण बनाउने उनको चुनावी एजेण्डा थियो । “मेरो उम्मेदवारी महिलाको नेतृत्व स्थापित गर्न हो, महिलालाई न्याय दिलाउन हो, समतामा आधारित समाज निर्माण गर्न हो,” उनले भनिन् ।सुनसरी क्षेत्र नम्बर तीनका सबै वडालाई छुुने गरी चक्रपथ निर्माण गर्ने, ५ वर्ष भित्रमा कच्ची सडकलाई पक्की बनाउने, एक घर एक रोजगारको ब्यबस्था गर्ने, युवालाई व्यवसायी बनाउने उनका योजना थिए ।

प्रतिनिधिसभा तर्फ ठूला दलबाट सुनसरीकै एकमात्र महिला उमेदवार चौधरीले आफूले अवसर पाए ५ वर्षमा सुनसरी ३ लाई देशकै नमुना बनाउने दाबी गर्दै गर्दै तीन नम्बर क्षेत्रका जनताकी छोरी भगवती चौधरी देशकै छोरी बन्न चाहेको बताएकी थिइन् ।

दुःखमा जनतालाई साथ
गत साउनमा बाढीले घरको धुरी मात्र देखिन्थे । घरमा भएको अन्नपात र गोठमा भएका पशु चौपाया बाढीसँगै बगेका थिए । पानी परिरहेकै थियो, तर त्यही पानीका बीचमा पनि भगवती राहत सामग्री त्रिपाल, च्युरा, भूजा, दालमोठ गाडीमा हालेर जनताको घरदैलोमा पुग्थिन् । त्यसैगरी पुस माघको कठ्याङ्ग्रिँदो शीतलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेकी सांसद भगवती चौधरीले न्यानो कपडा वितरण गरेकी थिन । गृह जिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शीतलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् ।

भगवती जनता विपदमा परेका बेला पीडितलाई साथ दिन पीडित बसेकै अस्थायी टहरामा पुगेकी थिइन् । सुनसरी क्षेत्र नम्वर ३ मा पर्ने दुहवीका विभिन्न वडा पूर्वकुसाहा, चिमडी, रामगञ्ज बेलगछियालगायतका ठाउँमा पुगेर उनले जनतालाई साथ दिएकी थिइन् । उनले आफ्नो व्यक्तिगतसहित विभिन्न सस्थाहरुसँग सहकार्य गरेर २५ लाखभन्दा धेरैको राहत सामग्री वितरण गरेकी थिइन् ।

०७२ वैशाख १२ को भूकम्पमा काठमाडौंमा रहेकी उनी राहत लिएर तत्काल सुनसरी पुगेकी थिइन् । उनले त्यो बेला १६ लाख रुपैयाँबराबरको राहत बितरण गरेकी थिइन् । उनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पनि १० लाख रकम जम्मा गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस