२०८१ मङ्सिर १ गते शनिवार | 2024 November 16th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माधवलाई ओलीको फोन : ‘प्रचण्ड जी भेट्न आउँदै हुनुहुन्छ, उहाँले ल्याउने कुरा मेरो पनि हो है’

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गर्दै स्वास्थ्यलाभ कामना गरेका छन् । उनले नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड आउँदै गरेको भन्दै उनले अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताए ।

अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहेका नेपाललाई आइतबार साँझ ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै फोन गरेका थिए । ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित माओवादी र एमालेका केही नेता पनि साथै थिए । कुराकानीमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार आइतबार साँझ ओलीले नेपाललाई फोन गर्दै भने, ‘स्वास्थ्यलाभको कामना छ । म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ । प्रधानमन्त्रीजी त्यहाँ आउँदै हुनुहुन्छ । तपाईंसँग प्रधानमन्त्रीले ल्याउनुहुने कुरा मेरो पनि हो ।’

विगतमा ओली–प्रचण्ड विवादमा नेपाल, झलनाथ खनाललगायत पनि विभाजित भएका थिए । एमाले फुटेर एकीकृत समाजवादी बनेयता उनीहरुबीच सौहार्दता कायम हुन सकेको थिएन । यसअघि प्रचण्ड–देउवासहित गठबन्धनमा रहेको एकीकृत समाजवादी र एमालेबीच अब नयाँ सत्ता गठबन्धन निर्माणसँगै कस्तो सम्बन्ध कायम रहला भन्ने जिज्ञासाबीच नेपाललाई ओलीको फोन अर्थपूर्ण रह्यो एक नेताले बताए । पुनले भने, ‘उहाँहरुबीच पार्टी फुट्दा केही तिक्तता पक्कै भएका होलान् । तर यो सहकार्यमा हामी सँगै हुन्छौं ।’ पुनले एमाले, एकीकृत समाजवादी सहितकै सहकार्यको पक्षमा आफूहरु रहने बताए । उनले तत्काल समाजवादी मोर्चा हुँदै बृहत बाम एकतातर्फ अघि बढ्ने बताए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस