२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वाफमा दमदार प्रदर्शन गरेको नेपाली टिम स्वदेशमा, ह्वीलचियरमा फर्किए दुई स्टार [फोटोफिचर]

काठमाडौँ । पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनशिप फुटबलमा दमदार प्रस्तुतिसहित उपविजेता भएको नेपाली टिम स्वदेश फर्केको छ । बिहीबार राति साउदी अरेबियाको जेद्दामा भएको फाइनलमा पेनाल्टी सुटआउटमा जोर्डनसँग पराजित हुँदै नेपाल पहिलो सहभागितामा उपविजेता बनेको थियो ।

सशक्त टिमहरुलाई पराजित गर्दै फाइनलमा पुगेको नेपाल फाइनलमा पनि आफूभन्दा फिफा वरीयतामा निकै माथि रहेको टिममाथि शानदार प्रस्तुतिसहित उपविजेता बन्दै शुक्रबार राति स्वदेश फर्केको हो ।  यो प्रतियोगिताबाट नेपाली महिला टिमले धेरै नेपालीको मन जितेको छ । साथै एसियाली क्षेत्रमा पनि आशाको किरण फैलाउन सफल भएको छ ।

जोर्डनले पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले नेपाललाई पराजित गर्दै वाफको उपाधि जितेको हो । जोर्डनका सबै पाँच खेलाडीले गोल गरेका थिए । नेपालका तर्फबाट गीता राना, दीपा शाही र हीरा भुजेलले गोल गरेका थिए । अमृता जैसीले चौथो पेनाल्टी मिस गरेकी थिइन् । उनको प्रहार जोर्डनकी गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन् ।

जोर्डनले वाफको उपाधि जितेको यो छैटौँ पटक हो । फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । निर्धारित ९० मिनेटको खेलमा नेपाल र जोर्डन २–२ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । नेपालले खेलको इन्जुरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो ।

यसअघि नेपालले खेलको २८औँ मिनेटमा शुरुआती गोल गरे पनि खेलको ७६औँ मिनेटमा जोर्डनले गोल गर्दै खेल बराबरी गरेको थियो । ८८औँ मिनेटमा जोर्डनले दोस्रो गोल गरेको थियो । नेपालका लागि सबिता राना मगरले पहिलो गोल गरेकी थिइन् भने गीता रानाले पेनाल्टी गोल गरेकी थिइन् । नेपालले उपाधि हारे पनि आमन्त्रित टिमको रुपमा पहिलो सहभागितामा आफू भन्दा अब्बल टिमहरुलाई हराएर फाइनलमा पुगेको थियो । फाइनलमा पनि शानदार प्रदर्शन गरेको थियो ।

नेपाल मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले, दोस्रो खेलमा इराकलाई ५–० गोल अन्तरले र तेस्रो खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले हराएको थियो ।

फाइनलमा नेपालका लागि सर्वाधिक गोल गरेकी खेलाडी सावित्रा भण्डारी साम्बाले भने खेलेकी थिइनन् । सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नभएकी हुन् । सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबारको फाइनल खेल फिफा विन्डो पछि भएको हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नभएकी हुन् । फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो ।

साम्बा नहुँदा नेपाल फाइनलमा शुरुआतदेखि नै दबाबमा रहेको थियो । साम्बा प्रतियोगितामै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले ९ गोल गरेकी थिइन् । तर साम्बा नहुँदा पनि नेपाली टिमले शानदार प्रदर्शन गर्यो । नेपाल उपाधि नजिक पुगेर पनि चुकेको छ । सन् १९८६ देखि अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको नेपालले अहिलेसम्म कुनै उपाधि जितेको छैन । वाफ जस्तो ठूलो प्रतियोगितामा रवाफिलो प्रदर्शन गरेर मन भने जित्न सफल भएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस