२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वाफ महिला च्याम्पियनसिपको जोर्डन विरुद्ध उपाधि भिडन्तमा नेपाली महिला टोलीमा तीन परिवर्तन

काठमाडौं । वाफ महिला च्याम्पियनसिप अन्तर्गत जोर्डन विरुद्ध उपाधि भिडन्तको सुरुवाती ११ मा नेपालले तीन परिवर्तन गरेको छ । जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुनेछ । फ्रान्स फर्किएकी सावित्रा भण्डारी, अनिता केसी, अनिता बस्नेत आज लेबनान विरुद्ध खेल्ने टोलीबाट बाहिरिएका छन् ।

उनीहरूको स्थानमा दीपा शाही, रश्मी कुमारी घिसिङ र सविता राना मगर टोलीमा अटाएका छन् । नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता समेत रहेको जोर्डन वाफको ५ पटकको च्याम्पियन हो । नेपालले पहिलो पटक यो प्रतियोगिता खेल्ने मौका पाएको हो ।

मंगलबार भएको सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ ले पराजित र जोर्डनले प्यालेस्टाइनलाई ५–० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको थियो । समूह चरणमा दुबै टोलीले सबै ३ खेल जितेको थियो । जोर्डनको‌ फाइनलसम्मको यात्रा सहज रह्यो । समूह चरणमा सजिलो साथ अघि बढेको नेपालले सेमिफाइनलमा लेबनानको कडा चुनौतीको सामना गर्नुपरेको थियो । १–० ले पछि परेको खेल उल्टाउँदै नेपाल उपाधि नजिक पुगेको थियो ।

फिफा वरियतामा नेपाल भन्दा जोर्डन माथि छ । महिला फुटबलको वरियतामा नेपाल १ सय पाँचौं र जोर्डन ७४औं स्थानमा छ । वाफमा नेपालले ४ खेलमा १५ गोल गर्दै २ गोलको सामना गरेको छ भने जोर्डनले १३ गोल गर्ने क्रममा १ गोल खाएको छ ।

नेपालको सुरुवाती ११:

एन्जिला तुम्बापो सुब्बा (कप्तान, गोलकिपर), पूजा राना, गिता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, दीपा शाही, प्रिती राई, सविता राना मगर, अमिषा कार्की, रेखा पौडेल, रश्मी कुमारी घिसिङ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस