२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जोर्डनसँगको फाइनल खेलमा नेपालले स्टार फरवार्ड सावित्रा गुमायो, कसले लिन्छ साम्बाको स्थान

Nepal star forward Savitra Gumayo in the final match with Jordan

काठमाडौं । वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनलमा नेपालले जोर्डनको सामना गर्दैछ । हालसम्म अपराजित रहेका यी दुई टोलीबीचको खेलमा नेपालले आफ्नो स्टार फरवार्ड सावित्रा भण्डारीको साथ भने पाउने छैन ।

नेपालले प्रतियोगितामा खेलेको सबै ४ खेलमा साम्बालाई नै आक्रमणमा उतारेको थियो । तर फिफा विन्डोबाहिर रहेको यस खेलका लागि साम्बा व्यावसायिक सम्झौताका कारण उपस्थित हुने छैनन् । उनी आज नै फ्रान्स पुग्ने तालिका छ । साम्बालाई रेखा पौडेल, अमिषा कार्की र अनिता बस्नेतले साथ दिएका थिए । मिडफिल्डमा प्रिती राईसँग अनिता केसी र दिपा शाहीले २–२ खेलमा सुरुवात गरेका थिए । फाइनलमा भने प्रशिक्षक राजेन्द्र तामाङलाई आक्रमणमा साम्बाको अनुपस्थिति हुँदा खेलाडी छनोट टाउको दुखाइ बन्ने देखिन्छ ।

रश्मीकुमारी घिसिङले सेमिफाइनलमा बेन्चबाट मैदान प्रवेश गर्दै नेपालको पक्षमा खेल ल्याउन महत्त्वपूर्ण प्रदर्शन गरेकी थिइन् । त्यस्तै सविता रानामगरले पनि टोलीको तालेमल फर्काउन राम्रो योगदान दिइन् । फाइनलमा सावित्रा र अनिताको स्थानमा यी दुई पहिलो रोजाइमा आउने सम्भावना बलियो छ । सेमिफाइनलमा अनिता बस्नेतको स्थान लिएकी विमला चौधरीले पनि त्यति राम्रो प्रदर्शन गर्न सकिनन् । अनिता सेट पिसमा राम्रो भएपनि खेलमा जम्न नसक्दा तामाङले विमलाको विकल्प रोजेका थिए । विमलाबाट रक्षात्मक रुपमा टोलीले आवश्यक दबाब पाएपनि आक्रमणमा भने उनले खस प्रभाव जमाएकी छैनन् ।

रेखा र रश्मीले आक्रमणमा खेल्दा अमिशा र सविता दुई विंगमा प्रभावकारी विकल्प देखिन्छन् । सविताले आवश्यक पर्दा नम्बर ९ को भूमिका पनि निर्वाह गर्न सक्ने र रश्मी मिडफिल्डमा पनि झर्न सक्ने हुँदा प्रशिक्षक तामाङले यो विकल्प रोज्न सक्छन् । यसबाहेक विमल चौधरी र अनिता बस्नेतसँगै चन्द्रा भण्डारी पनि बेन्चबाट विकल्पको रुपमा छिन् । मिडफिल्डमा सरस्वति हमाललाई अवसर दिए प्रिती राई र दिपा शाहीलाई केहि आक्रामक भूमिका दिने योजना पनि तामाङसँग छ । यसो हुँदा अमिशा, रेखा र सविता सम्मिलित ३ खेलाडीको आक्रमण निर्माण हुनेछ । यसमा दिपा शाहीसँग पनि विंग फरवार्ड खेल्ने क्षमता छ ।

जोर्डन नेपालको तुलनामा शारीरिक र प्राविधिक दुवै पक्षमा निपुण देखिन्छ । पाँच पटकको च्याम्पियन जोर्डनविरुद्ध नेपालको डिफेन्सको असली परिक्षा हुनेछ । यससँगै प्रतियोगितामा बिर्सनलायक रहेको नेपालको गोलरक्षणले प्रदर्शन सुधार गर्नुपर्नेछ । विगतको फाइनलमा नेपालले आक्रमणमा गोल निकालेपनि डिफेन्स र गोलरक्षणले दबाब खेप्न नसक्दा हार बेहोरेको उदाहरण छन् । त्यसबाट माथि उठेमात्र नेपालले उपाधिको खडेरी तोड्न सक्नेछ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस