२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लेबनान विरुद्ध अन्तिम समयमा प्रितीको गोलले नाटकीय जित दर्ता : नेपाल फाइनलमा

काठमाडौं । इन्ज्युरी समयमा प्रिती राईले उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २–१ को नाटकीय जित दर्ता गरेको हो । खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक क्लियर भएपछि बक्स बाहिरबाट प्रितीले गरेको प्रहारले जाली चुमेको थियो ।

त्यसअघि निकै संघर्ष पश्चात ७६औं मिनेटमा नेपाल अन्ततः बराबरी गोल गर्न सफल भएको थियो । रश्मीको पासमा सावित्रा भण्डारी साम्बाको पहिलो प्रहार लमिटाले बचाएपछि डिफेन्डर अमिना करिमले क्लियर नगरेपछि साम्बा आफैले मौकाको फाइदा उठाउँदै गोल गर्न सफल भइन् । प्रतियोगितामा साम्बाको‌ त्यो नवौं गोल हो । उनले खेलेका सबै ४ खेलमा उनले गोल गरेकी छन् । पहिलो हाफको ३८औं मिनेटमै नेपाल गोल खान पुगेको थियो । पूजा रानाले गोलकिपर एन्जिलाको लागि खेलेको ब्याकपासमा गोलरक्षक धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो ।

नेपालले पछिल्लो खेलहरुमा जस्तो पहिलो हाफमा खेलमा पकड बनाउन सकेको थिएन । अवसरहरु सिर्जना भएपनि नेपालको फरवार्ड लाइनले अवसरहरूको राम्रो सदुपयोग गर्न सकेन ।तेस्रो मिनेटमा साम्बाको क्रसले आफ्नो टिममेट भेटाउन सकेन । १३औं मिनेटमा रेखा पौडेलले सुन्दर अवसर खेर फालिन् । पूजाले आफ्नो हाफबाट खेलेको लामो बल लेबनानले क्लियर गर्न नसकेपछि बनेको वान अन वान अवसरमा उनले पोस्टभन्दा बाहिर प्रहार गरिन् ।

१४औं मिनेटमा साम्बाले बक्स बाहिरबाट लिएको प्रहार पोस्टतर्फ जान सकेन । २०औं मिनेटमा लेबनानकी लैला इस्कन्दरको प्रहार नेपाली गोलकिपर एन्जिलाले सहजै समातिन् । २८औं मिनेटमा रेखाको अर्को लङ रेन्ज प्रहार पोस्टको दिशामा रहेन । ४२औं मिनेटमा अमिषा कार्कीको क्रस साम्बासम्म पुग्न सकेन । ५९औं मिनेटमा साम्बाको अर्को प्रहारले लेबनान गोलरक्षकलाई दुःख दिन सकेन ।

६६औं मिनेटमा विमला चौधरीको प्रहार लेबनान गोलरक्षक लमिटा एल दिबले बचाइन् । ७१औं मिनेटमा रश्मीको प्रहार डिफेन्डरलाई लागेर पोस्टको केही टाढाबाट बाहिरियो । त्यसपछिको कर्नरमा गिता रानाको हेडर पनि पोस्ट तर्फ जान सकेन । नेपालले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेता सँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस