काठमाडौं । नेकपा एमालेले नेता–कार्यकर्तामा देखिएको समस्या औंल्याउँदै समाधानको सुझाव मागेको छ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा संगठनात्मक कामको समीक्षासम्बन्धी प्रतिवेदन तथा प्रस्तावमा महासचिव शंकर पोखरेलले स्वेच्छाचारिता, निजी स्वार्थकेन्द्रित व्यक्तिवाद, अवसरवाद, चारित्रिक विचलन, अराजकता, अनुशासनहीनताजस्ता प्रवृत्ति झांगिन खोजेकोतर्फ दशौं महाविधेशनले गम्भीर संकेत गरेको उल्लेख गरेका छन् ।
गत वर्ष सञ्चालित मिसन ग्रासरूटका क्रममा पनि यी प्रवृत्ति देखिएको उल्लेख छ । ‘हाम्रासामु जनता, राष्ट्रि र पार्टीको सेवामा समर्पित योग्य, इमान्दार, निष्ठावान्, नेता कार्यकता र सदस्यहरूको लक्ष्यकेन्द्रित एकताबद्ध र अनुशासित पार्टी निर्माण गर्न चुनौती खडा भएको छ’, प्रतिवेदनमा लेखिएको छ ।
प्रदेश र स्थानीय कमिटीहरू पार्टी प्रणालीमा नचलेको र गुटबन्दीका गम्भीर विकृति देखा परेको ठहर पनि महासचिव पोखरेलले गरेका छन् । ‘कतिपय ठाउँमा कमिटीको पूर्ण बैठक नबस्ने, सचिवालय गठन नहुने या सचिवालयको बैठक नबस्ने जस्ता प्रवृत्ति देखा पारेका छन् । मन मिल्नेहरु अलग्गै बस्ने, खानपिन गर्ने, कमिटीको सरोकारका विषयमा अलग धारणा बनाउने त्यसका आधारमा लबिङ गर्ने र कमिटिको निर्णयलाई प्रभावित पार्ने प्रवृत्ति पनि छ । प्रदेश तथा स्थानीय तहका कमिटीहरु अन्तर विरोधग्रस्त छन् र कतिपयमा ती गुटबन्दीका गम्भीर विकृति देखा पर्न थालेका छन् ’, महासचिवद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पपर्धा जित हासिल गर्ने औजारका रूपमा स्वेच्छाचारी ढंगले विनामापदण्ड सदस्यता प्रदान गर्ने नकारात्मक प्रवृत्ति अझै समाप्त नभएको पनि उल्लेख गरेका छन् । पार्टीमा गुटबन्दीका गम्भीर विकृति देखापर्न थालेको निष्कर्षसहित कमिटीलाई बेवास्ता गर्ने र निश्चित व्यक्तिको सेटिङमा पार्टीलाई बन्धक बनाउन खोज्ने प्रवृत्ति हुर्किँदै गरेको पनि उनको निष्कर्ष छ ।
प्रस्तावमा भनिएको छ, ‘स्थानीय अन्तरविरोधहरूमा पार्टी केन्द्रका यो वा त्यो नेतालाई जोड्ने वा सिरानी हाल्ने प्रवृत्ति देखिन थालेको छ । व्यक्तिगत वा गुटगत स्वार्थलाई निर्देशित पद, प्रतिष्ठा, मर्यादा र सुविधालक्षित अन्तरविरोधले पार्टीलाई नराम्रोसँग गाँज्न खोज्दैछ । विगतको स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीभित्रको अन्तरविरोध झाँगिदै गएर असहयोग र अन्तरर्घाताको तहमा समेत प्रकट भएको तीतो अनुभव हामीसँग छ ।’
प्रतिवेदनमा पार्टीका कार्यकर्ताको प्रभावकारी मूल्यांकन हुन नसकेको समस्या पनि औंल्याइएको छ । ‘कार्यकर्ताको मूल्यांकनका लागि हामीले दुईवटा विधि अवलम्बन गरेका छौं । एउटा, महाधिवेशन र अधिवेशनमा पार्टी सदस्यले आफ्ना प्रतिनिधिमार्फत कमिटीका पदाधिकारी र सदस्य पदमा योग्यतम व्यक्ति निर्वाचित गर्ने’, प्रतिवेदनमा भनिएको छ, ‘ अर्को, दुई महाधिवेशन वा अधिवेशनको बीचमा कमिटीले आफ्नो कमिटिका पदाधिकारी र सदस्यलाई उचित जिम्मेवारी दिने, कार्यविभाजन गर्ने र आवश्यकता अनुसार दण्डित र पुरस्कृत गर्ने । तर पार्टीमा दुवै मूल्यांकन प्रणाली प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेका छैनन् ।’