२०८१ असोज १० गते बिहिवार | 2024 September 26th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुडान, कंगो र हाइटीको भन्दा नेपाली पासपोर्ट कमजोर, फ्रान्सको सबैभन्दा शक्तिशाली

७ फागुन, काठमाडौं । विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो । अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आईएटीए) को विशेष तथ्यांकमा आधारित रहेको हेन्ली पासपोर्ट इन्डेक्सले जनाएको छ । अध्ययनमा १९९ राहदानी र २२७ वटा यात्रा गन्तव्यहरू समावेश छन् । जसबाट १०९ वटा वरियता तय भएको थियो ।

नेपाल रहेको १०३औं वरियतामा लिबिया र प्यालेस्टाइनका पासपोर्ट पनि परेका छन् । तर, सुडान, साउथ सुडान, इथियोपिया, कंगो, हाइटी र भुटानजस्ता देशका पासपोर्ट नेपालको भन्दा माथिल्लो वरियतामा छन् । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ प्रतिवेदनअनुसार हाल नेपालको पासपोर्ट ४० वटा मुलुकमा मात्रै अनरआइभल भिसा लाग्छ ।

वरियतामा सबैभन्दा कम शक्तिशाली रहेको अफगानिस्तानको पासर्पोट १०९औं स्थानमा छ । जसको पासपोर्टमा २८ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्छ । अन्तिमको अफगानिस्तानभन्दा अघि सिरिया १०८औं, इराक १०७औं, पाकिस्तान १०६औं, समय १०५औं, सोमालियाका पासपोर्ट १०४औं स्थानमा छन् । नेपालभन्दा ठीक माथि १०२औं स्थानमा उत्तर कोरिया र बंगलादेशका पासपोर्ट छन् भने १०१औं स्थानमा श्रीलंका छ । दक्षिण एसियाका माल्दिभ्सको पासपोर्ट ५८औं, भारतको ८५औं र भुटानको ९२औं स्थानमा छन् ।

सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टको पहिलो स्थानमा फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनकाको नाम छ । ती सबै देशका पासपोर्टले १९४ मुलुकमा अनअराइभल भिसा पाउँछन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस