काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद ल्याउने विचारधारा रहेको बताएका छन् । पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको बताए ।
नेपालले गरिवीबिरुद्धको लडाइंँमा सफलता हासिल गरेर मात्र समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुसी ल्याउनेगरी मुलुकको समृद्धिको बाटो तय गरेको अध्यक्ष ओलीले बताए । उनले नेपालले समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा संविधानमै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा आफूहरुले जोड दिएको बताए। ओलीले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझ घनिभूत बनाएर लैजानुपर्ने आवश्यकता औल्याए ।
उनले भने, ‘हाम्रो प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो। हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ । हामी प्रतिवद्ध छौं समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न। समृद्ध नेपालः खुशी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो। गरिवीविरुद्धको लडाइँमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो । अध्यक्ष ओलीले राष्ट्रिय हित, पारस्पारिक लाभ, सम्मान र सामाजिक न्यायमा आधारित परराष्ट्र नीतिको पक्षमा आफ्नो पार्टी दृढ रहेको बताए ।’