२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष जेल सजाय, ८० लाख जरिवाना

३ फागुन, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष जेल सजाय ठहर भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना गराउने आदेश सुनाएको हो ।

उनीसँगै विचौलिया रामप्रसाद सुवेदी र शोभाकान्त ढकाललाई पनि दुई वर्ष जेल र ८० लाख ४८ हजार रुपैयाँ जरिवना गराउने फैसला भएको छ । उनीहरु सरकारी जग्गा सट्टा भर्ना गर्ने कार्यको मतियार भएको र आफ्नो र परिवारको नाममा जग्गा पास गरेको अभियोग थियो ।

मोहीको सट्टा भट्टा प्रक्रियामा बदनीयतपूर्वक अपारदर्शी तवरले भूमिसुधार ऐन २०२१ तथा जग्गा प्राप्ति ऐन २०३४ का आज्ञात्मक प्रबन्धहरु छलेको देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन उनले आर्थिक लगानी गरेको र पछि आफ्नै नाममा ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पनि भेटिएको थियो ।

ललिता निवास जग्गामा किर्ते गरेको अभियोगमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङलाई १२ असार २०८० मा पक्राउ गरेको थियो । उक्त अभियोगमा उनी धरौटीमा छुटेका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस