२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनलाई शहरी विकासमन्त्रीको धम्की, धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो हुँदैन

Balen threatened by Urban Development Minister

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने धम्की दिएकी छन् । प्रतिनिधिसभाको बैठकपछि सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलविना जबरजस्ती पार्किङ गराउनु विधिविपरीत रहेको बताइन् ।

उनले निर्माणाधीन धरहराको काम सम्पन्न भएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर जाने बताइन् । महानगरपालिकाले निर्माण अवरुद्ध हुनेगरी गरेको निर्णय तत्काल रोक्नुपर्ने उनको भनाइ छ । मन्त्री गुरुङले २५० चार पाङ्ग्रे र ६०० दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने भए पनि निर्माण सम्पन्न नभएकाले तीन तलाको बेसमेन्टमुनि अक्सिजनको अभाव, बत्ती र आगो निभाउने यन्त्र (फायर एक्सटिंग्विसर) जडानलगायतका काम बाँकी रहेको बताइन् ।

महानगरले काम गर्नेलाई समय र वातावरण दिनुपर्ने बताउँदै उनले प्रश्न गरिन्, ‘पार्किङ गर्न जाँदा अक्सिजन नपुगेर क्षति भयो भने कसले व्यहोर्ने ?’ मन्त्री गुरुङले भनिन्, ‘धरहरा सम्झौताअनुसार पहिला नै निर्माण सम्पन्न हुनुपर्ने हो । कोभिडको कारण काम गर्न सकिएको थिएन । डिजाइनहरुसमेत करेक्सन गरेर अगाडि बढाउँदा ढिला भएको छ । अहिले निर्माण अघि बढिरहेको छ । हामीले फागुन महिनाभित्र सम्पन्न गराउने भनेर निर्माण व्यवसायी, आयोजना प्रमुखसँग छलफल गरेका छौं । तीन महिनामा सम्पन्न गर्ने भनेर एक महिना अघि नै छलफल भएको थियो । त्यहीअनुसार काम भइरहेको थियो । काम गर्दा समस्या भएको छ । धरहरा निर्माण सम्पन्न भयो भनेर उद्घाटन भएको एउटा विषय छ । धरहरा बने पनि सबै योजनाअनुसारको संरचना बनेको छैन । धरहरा उद्घाटनको प्रश्न पनि आफैंमा प्रश्न छ । अधुरा आयोजनाहरु समयमा नै निर्माण सम्पन्न गराउन धेरै मेहनत गरिरहेको छु ।’

महानगरपालिकाले आयोजना र निर्माण व्यवसायीहरुलाई पनि जानकारी नदिइ पार्किङको व्यवस्था गरिएको उनले बताइन् । ‘समन्वय र छलफल नगरी एकलौटी रुपमा पार्किङ गर्न सान्दर्भिक हुँदैन । महानगरले पत्रलाई प्राथमिकता दिएको छैन । यसरी नै जाने हो भने राम्रो परिणाम दिँदैन’, मन्त्री गुरुङले भनिन् ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस