२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इच्छाराज तामाङलाई ३ वर्ष कैद, एक अर्ब ७२ करोड रुपैयाँ जरिवाना

Chairman of Civil Cooperative Ichcharaj Tamang found guilty of money laundering

२१ माघ, काठमाडौं । विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ । अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आइतबार सजाय तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

विशेष अदालतले इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ । इच्छाराजका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाइसकेका छन् । विशेष अदालतले इच्छाराज, पत्नी, दुई छोरीहरु, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ, केशवकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश समेत दिएको छ ।

विशेष अदालतले फैसलामा भनेको छ, ‘यी प्रतिवादीहरु उपर काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा कसुर ठहर भएमा पीडितको बिगो भरिभराउने गर्ने कार्यले नै प्राथमिकता पाउने ठहर्छ । १६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी, अनि मामाससुरा केशवराज विरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।’

 

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस