२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चौधरी ग्रुपका धनाड्य अरुण चौधरी सीआईबीद्वारा पक्राउ

१८ माघ, काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ । यही घटनामा अनुसन्धानका लागि सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ ।

के हो विवाद ?

बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो । तर निरन्तर घाटामा गएको देखाएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो । भदौ २०४३ मा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई सरकारी मूल्यांकन भन्दा सस्तो (रोपनीको २ लाख ५० हजार) मा बेचिएको थियो भने थप ४ रोपनी जग्गा उद्योगको २५०० कित्ता शेयर पाउने गरी दिइएको थियो ।

त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य अरुणसँगै विनोद चौधरी, बसन्त चौधरी लगायत थिए । पछिल्लो समय यसको शेयर सदस्य अरुण र उनकी श्रीमती शीला थिए । अहिले यो जुत्ता उद्योग छैन । कम्पनीको नाम परिर्वतन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको छ र, चौधरी ग्रुप फाउन्डेसनले यहाँ चाँदबाग स्कुल सञ्चालन गरेको छ ।

 

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस