२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१४८ बल बाँकी छँदै नेपाललाई बंगलादेशले ५ विकेटले हरायो

१७ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका दिएको थियो ।

कप्तान देव खनाल ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । सुवास भण्डारी ३४ बलमा १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता १४ बलमा १ छक्कासहित ९ रनमा आउट भए । एक समय ८.३ ओभरमा २९–३ को अवस्थामा पुगेको नेपालका लागि देव र विशालले ११५ बलमा ६२ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीले नेपाल एक समय २७.३ ओभरमा ९१–३ को अवस्थामा थियो ।

तर देव जिशान आलमको बलमा कभरमा क्याच आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदा बलियो योगफल बनाउने अवसर गुमाएको थियो । गुल्शन झा, दीपक बोहरा र दीपेश कँडेल ३–३ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । गुल्शन यू-१९ एसिया कपपछि विश्वकपमा पनि चल्न सकेनन् ।

यस विश्वकपमा गुल्शन न्युजिल्यान्डसँग २, पाकिस्तानसँग १८ र अफगानिस्तानसँग १ रनमा आउट भएका थिए । बंगलादेशका तीव्र गतिका बलरले सुरुवात देखिनै सट र बाउन्सर बलमा नेपाली ब्याटरलाई दबाबमा राखेका थिए । अर्जुन कुमाल २६ बलमा २ चौकासहित १४ रनमा आउट भए । विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भएपछि नेपाल ८.३ ओभरमा २९–३ को अवस्थामा पुगेको थियो ।

बंगलादेशका रोहनत दोउल्लाह बोर्सनले ८.५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । शेख प्रवेज जिवनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले १-१ विकेट लिए ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस