२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं सयर गर्दा मुख्यमन्त्री शाहले लिए साढे ५ लाख भत्ता

While visiting Kathmandu Chief Minister Shah took 5.5 lakh allowance

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएपछि देखिने कामै नगरेको भन्दै आलोचना खेपिरहेका मुख्यमन्त्री कमलबहादुर शाह ११ महिनामा २२ पटक काठमाडौं गएका छन्। शाहले २०७९ सालको माघ २७ गते मुख्यमन्त्री पदको सपथ लिएका थिए। उनको काठमाडौंको यात्रा सपथ लिएको भोलिपल्टै देखि सुरु भएको देखिन्छ। माघ २७ गते सपथ लिएर उनी २८ गते नै संघीय राजधानी उडेका थिए। शाहले त्यो दिनको भ्रमणको कारण प्रधानमन्त्रीसँग भेटघाट तथा छलफल देखाएका छन्।

मुख्यमन्त्री शाह कुनै महिना तीन-तीन पटकसम्म काठमाण्डौं गएका छन्। २०७९ सालको फागुन ९ गते, २४ गते र २८ गते गरी एकै महिनामा उनी संघीय राजधानी गएका हुन्। फागुन २४ गएर २६ गते फर्किएका मुख्यमन्त्री २७ गते एक दिन मात्र धनगढी बसेर फेरि २८ गते संघीय राजधानी उडेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको तथ्यांकमा उल्लेख छ।

माघको २८ गते प्रधानमन्त्रीसँग भेटघाट गर्न गएका मुख्यमन्त्री शाहले फागुनको ९ गते र २४ गते पनि त्यही शीर्षकमा भत्ता बुझेका छन्। ११ महिनामा २२ पटक संघीय राजधानीको सयर गरिसकेका मुख्यमन्त्री शाहले १० पटकको यात्रा प्रधानमन्त्रीसँग भेटघाट र छलफलका लागि भएको भनेर टिकट, भत्ता बुझेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको सूचनाअनुसार मुख्यन्त्री शाहको २२ वटा संघीय राजधानी काठमाडौंको भ्रमणमा ५ लाख ५६ हजार ८२६ रुपैयाँ खर्च भएको छ।

उनले बुझेको खर्च विवरणमा पनि एकरुपता छैन। मुख्यमन्त्री शाहले २०८० साउन १ गते देखि २०८० साउन ८ गतेसम्मका ८ दिन प्रधानमन्त्री पुष्पकमल दाहालको पत्नीको श्रद्धाञ्जली सभामा सहभागी हुन काठमाडौं गएको उल्लेख गरेका छन्। त्यो ८ दिनको खर्चबापत उनले ३५ हजार ५२५ रकम बुझेका छन् भने २०८० असोज २६ गते देखि २८ गतेसम्म पिएलजिएसपीको राष्ट्रिय निर्देशक समितिको बैठक भन्दै ३ दिनको खर्च ३० हजार ७११ रकम बुझेका छन्।

मुख्यमन्त्री शाहको काठमाडौं भ्रमण धेरै भयो भनेर उनकै पार्टीभित्र पनि आलोचना हुन थालेको छ। सत्ता गठबन्धनका सारथी दलहरूभित्र पनि मुख्यमन्त्री शाह कुनै पनि निर्णय आफू गर्न नसक्ने भन्दै आलोचना गर्न थालेका छन्। सत्ता गठबन्धनकै एक नेता भन्छन, ‘मुख्यमन्त्री शाहमा आफू निर्णय गर्नसक्ने क्षमताको अभाव देखियो। ससानो निर्णयका लागि पनि राजधानी जाने हो भने संघीयता किन चाहियो?’

पूर्व मुख्यमन्त्रीहरू पनि अहिलेका मुख्यमन्त्रीको राजधानी बसाईप्रति बेखुस छन्। पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट भन्छन, ‘मेरो पालामा ठूलै निर्णयका लागिमात्र काठमाडौं गइन्थ्यो। धेरै काम त फोनबाटै हुन्छ नि। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा त्यत्रो एलइडी छ, अहिले त इन्टरनेटको जमाना हो, भर्चुअल बैठक गरेपनि हुन्छ नि।’

उनले प्रदेश सरकार गतिहीन भएको बताए। ‘मुख्यमन्त्री आधाभन्दा बढी समय काठमाडौंमा बिताउँछन्। उनमा ‘डिसिजन पावर’ कम भएजस्तो देखिन्छ। त्यसैले हामीले अब सरकारको नेतृत्व परिवर्तन हुनुपर्छ भनिरहेका छौं,’ उनले भने। पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले अहिलेको सरकार तीर्थाटनमा रमाएको आरोप लगाए। ‘यो सरकार तीर्थाटनमा रमायो। आफैंले पास गरेको बजेटको कार्यान्वयनमा ध्यान छैन। बहुवर्षीय योजनाहरूको अवस्था नाजुक छ। बजेटको कुनै मध्यावधि समीक्षा हुन सकेको छैन। संसदलाई कामविहीन बनाइएको छ।’

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका रावलले अहिलेको सरकार जिम्मेवार र जवाफदेही पनि हुन नसकेको आरोप लगाए। ‘भाषणमा भ्रष्टाचारमा शून्य सहनशीलता भनिन्छ। तर, नीतिगत भ्रष्टाचार मौलाएको छ,’ उनले भने।

 

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस