काठमाडौं । अमेरिकाको अलाबामा राज्यले हत्यामा दोषी ठहर भएका ५८ वर्षिय कनिथ युजिन स्मिथलाई नाइट्रोजन ग्यासको प्रयोग गरेर मृत्युदण्ड दिएको छ । मृत्युदण्ड दिँदा नाइट्रोजन ग्यासको प्रयोग अमेरिकामा पहिलोपटक भएको बीबीसीले उल्लेख गरेको छ । मृत्युदण्ड सूचना केन्द्रका अनुसार स्मिथ विश्वमा शुद्ध नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड पाउने पहिलो व्यक्ति हुन्।
स्मिथले मृत्युदण्डलाई क्रूर र असामान्य सजाय भएको तर्क गर्दै सर्वोच्च अदालत र संघीय पुनरावेदन अदालतमा गरेको अपिल हारेपछि मृत्युदण्ड पाएका हुन् । उनलाई सन् २०२२ मा घातक सुई लगाएर दिन लागिएको मृत्युदण्ड सजायको प्रयास असफल भएको थियो ।
स्मिथलाई सन् १९८९ मा एक प्रचारककी पत्नी एलिजाबेथ सेनेटको भाडा लिएर हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। अलाबामा र दुई अन्य अमेरिकी राज्यहरूले घातक इन्जेक्सनहरु फेला पार्न गार्हो भएपछि वैकल्पिक विधिको रूपमा नाइट्रोजन हाइपोक्सियाको प्रयोगलाई अनुमोदन गरेका छन् । त्यही नीति अन्तर्गत पहिलोपटक नाइट्रोजन प्रयोग गरेर मृत्युदण्ड दिइएको हो । अमेरिकाका विभिन्न राज्यहरुमा घाटक इन्जेक्सन लगाएर मृत्युदण्ड दिने गरिएको छ ।
पृथ्वीको वायुमण्डलको करिब तीन/चौथाई नाइट्रोजन हुन्छ । तर शुद्ध नाइट्रोजन ग्यासमा मात्र सास फेर्दा मस्तिष्कमा अक्सिजन बन्द हुन्छ, यो प्रक्रियालाई नाइट्रोजन हाइपोक्सिया भनिन्छ। अक्सिजन बिना नाइट्रोजन सास फेर्दा शरीरका कोशिकाहरू भाँचिन्छ र मृत्यु हुन्छ।
जेल अधिकारीहरूका अनुसार स्मिथको अनुहारमा मास्क लगाएर शुद्ध नाइट्रोजन ग्यास प्रसारित गरिएको थियो । मृत्युदण्ड पाउनु अघि स्मिथले “आज राती अलाबामाले मानवतालाई एक कदम पछाडि लैजान्छ,मलाई समर्थन गर्नुभएकोमा धन्यवाद। सबैलाई माया गर्नुहोस्” भनेका थिए । उक्त घटनाका साक्षीहरुका अनुसार स्मिथ मृत घोषित गर्नु अघि दुई देखि चार मिनेट रिसाएका थिए र करिब पाँच मिनेट भारी सास फेरेका थिए।
नाइट्रोजन प्रयोगको विषय डरलाग्दो भएको भन्दै मिडियाहरुमा भइरहेको टिप्पणीलाई अलाबामाका महान्यायाधिवक्ता स्टिभ मार्शलले खण्डन गर्दै यो मृत्युदण्ड कार्यान्वयनको प्रभावकारी र मानवीय विधि साबित भएको बताएका छन् ।