२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जैविक मार्गमा बाघलाई पासो

Trap the tiger on the biological route

धनगढी । कैलालीको जैविक मार्गभित्र पासोमा पारेर पाटे बाघ मारिएको छ । चोरीसिकारीमा संलग्नहरूले जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र थापेको पासोमा परेर बाघ मरेको वन कर्मचारीले बताएका छन् । लम्की क्षेत्रको डुडेझारीबाट दक्षिण, कर्णाली नदीबाट करिब एक किमि पश्चिम र कटासे बजार जाने सडकबाट करिब २० मिटरको दूरीमा सडक किनारमा आइतबार पोथी पाटे बाघ मृत फेला परेको हो । यो ठाउँ परम्परागत रूपमा बाघलगायत वन्यजन्तु विचरण र ओहोरदोहोर गर्ने कर्णाली जैविक करिडोर क्षेत्र हो ।

वसन्ता करिडोर (जैविक मार्ग) सँग जोडिएको यस क्षेत्रलाई सरकारले जैविक करिडोर प्रस्ताव गरेको छ । भारतको दुधवा नेसनल पार्क, वसन्ता संरक्षण क्षेत्र, मोहना लालझाडी, बर्दिया राष्ट्रिय निकुञ्जमा यही मार्गबाट वन्यजन्तु ओहोरदोहोर गर्ने वन कर्मचारी बताउँछन् । पहलमानपुर डिभिजन वन कार्यालय प्रमुख रामविचारी ठाकुरले चोरीसिकार गर्नेले पासोमा पारेर बाघ मारेको बताए । .

‘पासोका लागि डोजरको ब्रेक क्लजको तार प्रयोग गरिएको छ,’ ठाकुरले भने, ‘दुई–तीन दिनअघि नै पासोमा परेको जस्तो देखिएको छ ।’ बर्दिया राष्ट्रिय निकुञ्जका अधिकृतसहितको टोलीले मृत बाघको पोस्टमार्टम गरेको ठाकुरले बताए । कार्यालयका फरेस्टर रामबहादुर रावलका अनुसार मृत बाघको तौल १ क्विन्टलभन्दा बढी छ । ‘पुच्छरसम्मको लम्बाइ सात फिट आठ इन्च, शरीरको लम्बाइ ५ फिट र गोलाइ तीन फिट सात इन्च छ,’ उनले भने, ‘पोथी बाघ हो । कताबाट आएको हो भन्ने यकिन भएको छैन ।’

घटनास्थल पुगेका फरेस्टर रावलका अनुसार पासो चुँडाएर छटपटिँदै बाघ अमरावती वनमा पुगेको र त्यहाँ लगाइएको काँडेतारमा अल्झिएर थप घाइते भएको देखिन्छ । काँडेतार पनि चुँडिएको फरेस्टर रावलले बताए । घटनास्थलभन्दा करिब ५ सय मिटर वरपर अमरावती, कटासे, बक्लवा शिविर र पाल बजार बस्ती पर्छन् । स्थानीयका अनुसार यसअघि बाघ जनकल्याण र ऐश्वर्य सामुदायिक वनमा देखिरहन्थ्यो ।

अमरावती सामुदायिक वन उपभोक्ता समूहका सचिव भीमबहादुर रावलले सडकपारिको हरियाली सामुदायिक वनबाट बाघ पासोमा परेर यहाँ आएको हुन सक्ने बताए । ‘पासो चुँडाएर यहाँ आएजस्तो देखिन्छ । हाम्रो वनमा घेरबारका लागि राखिएको काँडेतारमा अल्झिएको देखिन्छ,’ सचिव रावलले भने, ‘अन्य वन्यजन्तुको सिकारका लागि थापिएको पासोमा बाघ परेको हुनुपर्छ ।’

कर्णाली संरक्षित क्षेत्रकै जैविक मार्गभित्र संरक्षित वन्यजन्तु बाघ पासोमा परेर मारिनु निकै गम्भीर भएकाले संलग्न व्यक्तिको पहिचानमा लागिरहेको डिभिजन वन प्रमुख ठाकुर बताउँछन् । कैलालीमा जैविक मार्ग क्षेत्रमा पटकपटक वन्यजन्तुको चोरीसिकार हुने गरेको छ । ०७७ फागुनमा पनि पाटे बाघ मारिएको थियो । अन्तिम पटक मोहन्याल गाउँपालिकाको सालघारीमा देखिएको बाघ त्यसपछि कतै नदेखिएपछि मारिएको आशंका गरिएको थियो ।

त्यसअघि ०७७ माघ ३० मा कैलारी गाउँपालिकाको दुधियामा पाटे बाघ देखिएको थियो । त्यसैको दोस्रो दिन पुस्तौनीदेखि बाघको बाटो र बाघको सुरक्षित बसोबास क्षेत्रका रूपमा रहेको गौरीगंगा नगरपालिकाको मसुरियाको बढैपुर, अन्डैया जंगलमा देखेका थिए । स्थानीयका अनुसार अन्डैयामा दुई दिन बिताएको बाघ मट्कौनाको जंगल तालबन्द हुँदै सालघारी पुगेको अनुमान गरेका थिए । पछि उक्त बाघ मारिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको थियो ।

प्रहरीले ०७८ असारमा मोहन्याल गाउँपालिका–५ सालघारीका ५२ वर्षीय पूर्णबहादुर बुढामगर र लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय लोकेश सिजापतिलाई १० फिट १ इन्च लामो बाघको छालासहित गौरीगंगा नगरपालिका–७ को सिंहासन सामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको थियो । छालासहित पक्राउ परेपछि विगतमा त्यस क्षेत्रमा घुम्दै आएको सोही बाघ मारिएको खुलेको थियो । संकटापन्न सूचीमा रहेको संरक्षित वन्यजन्तु बाघ मार्न तथा अंग ओसारपसार गर्न प्रतिबन्ध छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ अनुसार बाघ मार्नेलाई १५ वर्षसम्म कैद, दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस