२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्वर्गीय सुबास नेम्वाङसमेतको नाममा नेपाल बैंकले निकाल्यो लिलामीको सूचना, २ करोड बढी तिर्न बाँकी !

Nepal Bank issued a notice of auction in the name of late Subas Nemwang

काठमाडौँ । नेपाल बैंक लिमिटेडले स्वर्गीय सुबासचन्द्र नेम्वाङसमेतको नाममा लिलामीको सूचना निकालेको छ । पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिले पूर्वसभामुख स्व.सुवासचन्द्र नेम्वाङको जग्गा धितो राखेर लिएको ऋण असुलीका लागि पटक-पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएपछि बैंकले धितो लिलामीको सूचना निकालेको हो ।

बैंकका अनुसार पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिका सञ्चालक देव कुमारी लिम्बु (सुवास नेम्वाङको बुहारी) र रुद्रप्रसाद (काजिमान) गिरीले नेम्वाङको नाममा इलाम नगरपालिका–२ (क) मा रहेको २४६ कित्ता नम्बरको ६ रोपनी जग्गा धितो राखेर २०७३ जेठ र चैत्रमा गरी डेढ करोड रुपैयाँ ऋण लिएका थिए । तर, ऋण लिएको लामो समय बित्दा पनि ऋणको किस्ता नआएपछि बैंकले ऋण तिर्न ताकेता गर्न सुरु गरेको थियो । ऋण चुक्ता गर्नका लागि पटक-पटक ताकेता गर्दा पनि ऋण चुक्ता नभएपछि अहिले बैंकले धितो लिलामीको सूचना निकालेको छ ।

यसो त बैंकले यसअघि नै कर्जा लिएका ऋणी र जमानीकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको थियो । तर, नेम्वाङ स्वयम आफैँले कर्जा चुक्ता गर्ने भने पछि बैंक त्यसबेला ऋणी र जमानीकर्तालाई कालोसूचीमा राख्ने कार्यबाट पछि हटेको थियो । तर, नेम्वाङको निधन भइसक्दा पनि ऋणीले ऋण चुक्ता गर्ने कुनै छाँटकाँट नदेखाएपछि लिलामीको सूचना निकाल्न बाध्य भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार नेम्वाङको जग्गा धितो राखेर लिइएको ऋणमध्ये एक करोड ५० लाख रुपैयाँ साँवा र ब्याज करिब ८० लाख रुपैयाँ तिर्न बाँकी छ । बैंकले लिलामीको सूचना जारी गरेको मिति (२०८० माघ ५ गते) ले ३५ दिनभित्र ऋणी तथा व्यक्तिगत जमानकिर्तालाई बैंकको सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्न अन्तिम मौका दिइएको जनाएको छ । सो अवधिमा पनि ऋण चुक्ता नभए ऋणी र जमानीकर्तालाई कालोसूचीमा राखी धितो लिलामीको प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । यस्तो छ बैंकले जारी गरेको सूचनाः

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस