२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हलेसी तुवाचुङ नगरपालिकामा ३७.९२ टन बदाम उत्पादन

37.92 tons of groundnuts produced in Halesi Tuwachung Municipality

खोटाङ, ९ माघ । आर्थिक वर्ष २०८०/०८१ मा खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ३७.९२ टन बदाम उत्पादन भएको छ । उत्पादन भएका बदाम मध्ये २३.०७ टन बदाम बिक्री भइसकेको नगरपालिकाका कृषि शाखा संयोजक राजु शाहले बताए । बाँकी १४.८५ टन बदाम किसानले बीउका लागि, अफ सिजनमा बिक्रीका लागि र आफ्नै प्रयोजनका लागि राखेका छन् । ११ वडा रहेको नगरपालिकाको करिब ४०.८५ हेक्टरमा बदाम खेती हुने गरेको छ । कोसेलीका रुपमा पनि बदामको प्रयोग हुने गरेको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र बदाम खेती हुँदै आएको छ । बदाम बिक्रीबाट नगरपालिकाका किसानले राम्रो आम्दानी लिइरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् । बदाम पाथीको सरदर अढाई सयदेखि चार सयसम्ममा बिक्री हुने गरेको छ । नगरपालिकाका किसानले उत्पादन गरेको बदामलाई व्यवसायीले ठेगेर ट्रकमार्फत अन्यत्र लैजाने गरेकाछन् । कतिपय ठेकेदारले जिल्लाकै हलेसीबजार, दिक्तेल, रभुँवामा लाग्ने माघे संक्रान्ती मेला, बराहपोखरी मेला, ओखलढुंगा लगायतका बजारमा बदाम बिक्री गर्न लैजाने गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा बढि बदाम खेती लगाउने गरिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार लगायतका ठाउँमा पनि आंशिक मात्रामा बदाम खेती लगाउने गरिएको छ । पानी नपरेका कारण यस वर्ष विगतको तुलनामा बदाम उत्पादनमा र्‍हास आएको कृषि संयोजक शाहले बताए ।

नगरपालिकाको धितुङमा सबैभन्दा बढि बदाम खेती लगाउने गरिएको छ । धितुङका धेरैजसो घरमा वार्षिक २०/२२ मुरी बदाम भित्रिने गरेको वडाध्यक्ष टेकराज राईले बताए । ‘वडाको आधा भू–भागमा बदाम खेती हुन्छ ।

वडाको तल्लो सबैजसो भू–भागमा लगाइन्छ । एक घर बराबर २०–२२ मुरी बदाम उत्पादन हुन्छ । पाथीको २५० देखि ३०० मा बिक्री हुन्छ,’ वडाध्यक्ष राईले भने, ‘बाबुबाजेकै पालादेखि स्वतःस्फुर्तरुपमा बदाम खेती हुँदैआएको हो । घरैबाट ठेकेदारले बदाम ठेगेर लैजान्छ । दाना लाउनेबेला पानी नपर्दा यसपल्ट अलि कम उत्पादन भो । जापानी नागरिक कोतोबुकीनाकाले २०७४ सालमा दुर्छिममा स्थापना गरेको बिपना इनकर्पोरेसन नामको पिनट्स बटर उत्पादक उद्योगमा पनि बदाम खपत हुनेगरेको छ ।’

तर सो पिनट्स बटर उत्पादक उद्योगले लोकल जातको बदाम मात्रै खपत गर्ने गरेको छ । उन्नत जातको बदाम भने जिल्ला तथा जिल्ला बाहिरका बजार पुग्ने गरेको मेयर बिमला राईले बताईन् । बदाम र गहतको प्रचुर सम्भावना भएकै कारण नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा गहत र बदाम खेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम नै ल्याएको छ ।’

 

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस