काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध निरन्तर लागिपरेका ‘अभियन्ता’ युवराज सफललाई ज्यान मार्ने धम्की आएको भन्दै एउटा अडियो सार्वजनिक गरिएको छ । सामाजिक सञ्जालमा हालिएको अडियोमा सफलले एक ‘अपरिचित’ व्यक्तिसित कुरा गरेको सुनिन्छ ।
अडियो संवाद यस्तो छः
धम्क्याउने : कि मुद्दा फिर्ता लेउ, कि दुई-चार दिनमा सुट गर्दिन्छु ।’
सफल : कसले ?
धम्क्याउने : मैले
सफल : को हो तिमी अनि ?
धम्क्याउने : हँ ?
सफल : को हो रे तिमी अनि ?
धम्क्याउने : त्यतिबेला थाहा पाउँछौ म को हो भन्ने !
सफल : के गर्छौं अरे तिमीले साँच्ची ?
धम्क्याउने : तँलाई म सिध्याइदिन्छु । कन्फर्म ।
सफल : कसरी सिध्याउँछस् ए भाइ ?
धम्क्याउने : चार दिनभित्र । पख । भुसडी !
दुवैले आरामसँग कुरा गरेको सुन्दा संवाद बनावटी हो कि जस्तो पनि लाग्छ । तर, सफलले साँच्चिकै धम्की आएको दाबी गरे । उनले भने, ‘हिजो राति एनटीसीकै नम्बरबाट फोन आएको थियो । मार्ने धम्की दियो । मैले पनि खोजतलास गरेर उसको ह्वाट्सएप पत्ता लगाएँ । अनि प्रहरीलाई पठाइदिएँ । भोलिपल्ट बिहान उसले फेरि फोन गर्याे र माफी माग्यो । आफूबाट गल्ती भएको स्वीकार गर्याे । ल त भनेर मैले पनि माफी दिएँ । प्रहरीलाई पनि होस् कारबाही नगर्नु भनेको छु ।’
ती व्यक्ति सरकारी कर्मचारी भएको आफूले पत्ता लगाएको पनि उनले बताए । कुन विषयमा धम्की दिएको भन्ने प्रश्नमा सफलले भने, ‘त्यही रवि लामिछानेविरुद्धको उजुरी फिर्ता लिनुपर्छ भनेर हो नि ! यो अडियो सुनेर धेरैले विश्वास भने गरेका छैनन् । चर्चामा आउनका लागि युवराज सफल आफैंले यो अडियो बनाएको हुन सक्ने उनीहरुको आशंका छ ।’