२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा सामान्य बर्षा सुरु, के हिउँदे झरी सुरु भएको हो ?

काठमाडौं । काठमाडौंमा सामान्य बर्षा सुरु भएको छ । यसपालिको हिउँद सुक्खा नै रहला कि भन्ने चिन्ता बढिरहेको बेला हल्का बर्षा सुरु भएको छ । हुन त हिउँद भनेको नेपालमा एकदमै कम पानी पर्ने समय हो। जून महिनाद देखि अक्टोबरसम्मको मनसुन अवधिमा वर्षभरिको करिब ८० प्रतिशत वर्षा हुने गर्छ। उक्त अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गरेको छ।

त्योबाहेक प्रि मनसुन भनिने बर्खाअघि र पोस्ट मनसुन भनिने बर्खापछिको समयमा पनि पानी पर्छ। हिउँदमा चाहिँ कुल वार्षिक परिमाणको ३–४ प्रतिशतमात्र पानी पर्ने गरेको बताइन्छ। “त्यसैले अझै पनि हिउँदका समय बाँकी रहेकाले एक दुई झर राम्ररी पानी पर्ने हो भने सरदर परिमाण भेट्न सक्छ,” मौसम विभागका मौसमविद् सुदर्शन हुमागाईँले भने।

“हामीले वास्तवमा जनरल सर्कुलेसन मोडल भनिने जीसीएममा आधारित भएर हाम्रो क्षेत्रका निम्ति हुने गरी मौसमी आकलन गरेका हुन्छौँ। त्यसकै आधारमा हामीले यसपालि सरदरभन्दा धेरै पानी पर्न सक्छ भनेका थियौँ तर त्यो भएन । हाल विभागसँग महिनैपिच्छेको बर्खा प्रक्षेपण गर्न सक्ने क्षमता नभएकोले आगामी साताहरूमा वर्षा होला कि नहोला या कति होला भनेर यकिन भन्न नसकिने उनले बताए। तर अहिले छिटपुट सुरु भएकाले अब एक झरी हुने हो कि भन्ने आँकलन गर्न सकिने उनको भनाई छ ।

काठमाडौंमा चिसो बढ्दो
विभागले निरन्तर ३ दिने मौसम पूर्वानुमानका बुलेटिन जारी गर्ने गर्छ। पछिल्लो बुलेटिनमा पनि वर्षाको सम्भावना देखिँदैन। “तर पनि देशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना भने छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए।

उनका अनुसार यो साता एउटा पश्चिमी वायु प्रणाली विकसित हुँदै गरेकाले त्यसले उच्च भेग तथा केही स्थानमा पानी पर्न सक्ने भए पनि यकिन भन्न सकिने अवस्था छैन। यो साता काठमाडौंमा न्यूनतम तापक्रम भने घटेको छ। “सोमवार काठमाडौंमा यो वर्षकै कम ३.२ डिग्री न्यूनतम तापक्रम रेकर्ड गरियो,” उनले भने।

त्यस्तै तराईका धेरै क्षेत्रमा कुहिरोको अवस्था रहेको विभागको बुलेटिनमा जनाइएको छ। त्यसले धेरै ठाउँमा भिजिबिलिटी वा पारदर्शिता निकै कम पारेको छ। मङ्गलवार जारी उसको बुलेटिनमा “बिहानको समयमा तराईका अधिकांश भू–भागहरूमा लागेको बाक्लो हुस्सु–कुहिरो अपराह्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ” उल्लेख छ। बुधबारपनि त्यही उल्लेख छ ।

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस