२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुम्लिङमा सशस्त्र प्रहरीको बीओपी भवनको शिलान्यास

Foundation Laying of BOP Building of Armed Police at Dumling

दार्चुला । ब्यास गाउँपालिका–२ दुम्लिङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवनको शिलान्यास गरिएको छ । भारतसित सीमा जोडिएको दुम्लिङमा शनिबार एक कार्यक्रमबीच बीओपी भवनको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले शिलान्यास गरेको हो । दुम्लिङ बीओपीमा जवान ब्यारेकसँगै सोकपिक, सेप्टिक ट्यांक तथा अन्य संरचना निर्माण गरिने सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति डम्मरसिंह विष्टले बताए । बीओपी ब्यारेकमा ४ कोठा निर्माण गरिने छ । जगदम्बा निर्माण सेवा प्रा.वि.ले ८९ लाख २८ हजार बढी लागतमा निर्माण गर्नेछ ।

चालु आर्थिक वर्षभित्रै ब्यारेक भवनलगायत सम्पूर्ण संरचना निर्माण गरी सक्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको दुम्लिङ बीओपी इन्चार्ज जयबहादुर महताले बताए । अहिले दुम्लिङ बीओपी स्थानीयको घर भाडामा लिई सीमा क्षेत्रमा निगरानी गरिरहेको उनको भनाइ छ ।

भवन शिलान्यासका क्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले मातहतका सुरक्षाकर्मीहरूलाई इमान्दार, अनुशासित, बफादार र कर्तव्यनिष्ठ भई सरकारबाट प्राप्त जिम्मेवारी र उत्तरदायित्वलाई उच्च मनोबलका साथ वहन गर्न निर्देशन दिएका थिए ।

यसअघि जिल्लाका विभिन्न ठाउँमा सशस्त्र प्रहरीका बीओपी स्थापना भएका छन् । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिलाई अझै विस्तार गर्दै लैजाने नेपाल सरकारको लक्ष्यअनुसार बीओपीहरूको स्थापना तीव्र गतिमा भइरहेको उनको भनाइ थियो । २०७७ असारको तेस्रो साता ब्यास गाउँपालिका–२ दुम्लिङमा सशस्त्रको बीओपी बस्दै आएको छ । स्थानीयको निजी घर भाडामा लिई बस्दै आएको भए पनि बीओपीको ब्यारेक भवनलगायतका संरचना निर्माण हुन थालेपछि सशस्त्र प्रहरी कर्मचारीलाई काम गर्न सजिलो हुने विश्वास लिइएको छ ।

दार्चुलामा सशस्त्र प्रहरीको सदरमुकाममा गण, ब्यासको छाङरु गुल्म तथा तिंकर, दुम्लिङ, सुन्सेरा, जौलजिवी र लालीमा बीओपी रहेका छन् । गण र तिंकर बीओपीबाहेक अन्य ठाउँमा ब्यारेक भवन र अन्य संरचना निर्माणाधीन तथा बन्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

जौलजिविमा छोटी भन्सार कार्यालयको भवनमा बीओपी राखिएको छ । लालीमा लेकम गाउँपालिकाको वडा केन्द्रमा रहेका सरकारी भवनमा बीओपी राखिएका छन् । सीमा सुरक्षाका लागि सशस्त्र बीओपी राखिएपछि सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप, चोरी तस्करी, अवैध सामग्री तार्ने जस्ता क्रियाकलापमा कमी आउने अपेक्षा गरिएको छ ।

बीओपीको संख्या बढेपछि सीमा सुरक्षासँगै चोरी–तस्करी नियन्त्रण भएको सशस्त्रको दाबी छ । यद्यपि, भारतबाट अहिले पनि तस्करी हुने गरेको सीमाक्षेत्रका स्थानीय बताउँछन् । सुरक्षा पोस्टहरू बसेपछि सीमाक्षेत्रका स्थानीयले सुरक्षाको भने महसुस गरेका छन् । चोरीका घटनाहरूमा कमी आएको सीमावर्ती गाउँका स्थानीयले बताएका छन् ।

 

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस