खोटाङ, ९ माघ । झुक्याएरपनि नकिन्नुहाेस् गृहिणी नामको चामल। यसले भाेक मेटाउने हैन, ज्यान लिनसक्छ । स्वास्थ्यमा गम्भीर असर पुर्याएर लाखौं क्षति हुनसक्छ । किनभने, गृहिणी नाम दिइएको स्टिम चामल २७ डिसेम्बर २०२३ (११ पुस २०८०) मा प्याकिङ गरिएको भनिएको छ ।
श्याम बाबा राईस एण्ड वेल मिल राजविराज सप्तरीद्धारा उत्पादन तथा प्याकिङ भएको गृहिणी नामको स्टिम चामल प्याकिङ गरेको १२ महिना अर्थात वर्ष दिनसम्म उपभोग गर्नका लागि उपयुक्त हुन्छ भन्ने लेखिएको छ । तर, उक्त गृहिणी नामको स्टिम चामल प्याकिङ भएको महिनादिन नपुग्दै कुहिएको अवस्थामा भेटिएको छ । यसकाे अर्थ के सम्म हुनसक्छ ? सजिलै अनुमान गराैं । यसअघि नै म्याद सकिएर सडिसकेकाे चामलमा नयाँ मिति टाँसेर पठाइएकाे छ । यस्ता ज्यानमारा खाद्यान्न बनाउनेकाे त्याेपनि किनेर उपभाेग गर्न सकिन्छ ? विचार तपाईंको, तर हामी पत्रकारिताकाे धर्म निभाउँदै थप तथ्य खुलाउँछाैं ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित एनआर सप्लायर्स नामको होलसेल तथा किराना पसलबाट रु दुई हजार १५० मा खरिद गरिएको गृहिणी नामको स्टिम चालममा आधासरो कुहिएको भेटिएको एक उपभोक्ताले बताएका छन् । “घरमा खाने चामल सकिएपछि सोमबार साँझ पसल गएर एक बोरा ल्याएका थियौँ । बेलुका पकाएर खाँदा स्वाद थिएन । बिहान उठेर हेर्दा जाँड पकाउन प्रयोग गर्दै आइएको जस्तो देखियो । खानयोग्य नभएपछि पुनः अर्को पसलबाट ल्याएर खायौँ”, नाम नभन्ने सर्तमा ती उपभोक्ताले भने, “हामी सोझासिधा उपभोक्तालाई ती ठग्ने काम भएको छ । व्यवसायको नाममा उपभोक्ताको अधिकारमाथि खेलबाड गर्ने व्यापारी तथा उत्पादक कम्पनीलाई कानून बमोजिम कारबाही गरिनुप¥यो । आगामी दिनमा यस्तो हुनुभएन ! तोकिएको मूल्य तिरेपछि गुणस्तरीय सामान उपभोग गर्न पाउनुपर्छ ।”
यतिसम्म कि, उक्त गृहिणी नामको चामलको बोरामा ब्याच नम्बर लेखिएको ठाउँमा २७ डिसेम्बर २०२३ लेखिएको छ भने, एमएफजि डेट लेखिएको ठाउँमा एमआरपि दुई हजार ३०० लेखिएको छ । नेट वेट लेखिएको ठाउँमा बेस्टबिफोर १२ मन्थ भनेर उल्लेख गरिएको छ । एमआरपि आरएस भनिएको ठाउँ खाली राखिएको छ ।
ब्याच नम्बर, उत्पादन मिति, वेट (तौल) र मूल्य लेख्नेगरी अर्कै ठाउँमा प्रिन्ट गरिएको चामलको बोरामा उत्पादन मिति, उपभोग मिति र मूल्यको छाप पछि हानिएको पाइएको छ । तौल कति छ भन्ने नलेखिएको चामलको बोरामा मूल्य भने रु दुई हजार ३०० उल्लेख छ । उत्पादन कम्पनीले नै रु दुई हजार ३०० उल्लेख गरेर बिक्री गरेको चामल दिक्तेलमा रु दुई हजार १५० मा बिक्री हुनु आफैमा शङ्काको विषय बनेको छ ।
यस विषयमा ती होलसेल तथा किराना पसलका सञ्चालक नवराज घिमिरेलाई बुझ्दा आफूहरुको कुनै गल्ती नभएको प्रतिक्रिया दिए । “हामीले सिधै कम्पनीबाट प्याकिङ गरिएको चामलको बोरा खरिद गरेर ल्याउने हो । बोरा फोरेर हेर्ने कुरा भएन । जस्तो आएको छ त्यस्तै बिक्री गर्ने गर्दै आएका छौँ”, उनले भने, “अहिलेसम्म कसैबाट गुनासो आएको थिएन । पहिलो पटक यस्तो कुरा आयो । यस विषयमा हामी गम्भीर भएका छौँ । हाम्रो पसलबाट बिक्री गरिएको चामल प्रयोग नै गर्न नमिल्ने रहेछ भने हामी त्यसको सट्टामा अर्को तथा पैसा फिर्ता दिन्छौँ । आफूले बिक्री गर्न ल्याएको चामल कुहिएको भेटिएको विषयमा सम्बन्धित कम्पनीसँग कुरा गर्छौँ ।”
मिल सञ्चालक लालुप्रसाद अग्रवालले भने, यस विषयमा तत्काल जवाफ दिन नसक्ने बताएका छन् । “कम्पनीको गल्ती हो वा बिक्रेताको गल्ती हो ! त्यो अहिले नै भन्न सकिने अवस्था भएन । बाटोमा भिजेको पनि हुन सक्छ । बिक्रेताले भण्डारण गरेको ठाउँमा पनि भिजेको हुन सक्छ । हामीले उत्पादन गरेको गृहिणी नामको चामलको बोरा ३० केजीको छ”, उनले भने, “ब्याच नम्बर, उत्पादन मिति, वेट (तौल) र मूल्य राख्नेक्रममा भने कम्पनीको गल्ती पनि हुन सक्छ । एक/दुई बोरामा त्यस्तो भएको होला ! काम गर्नेक्रममा झुक्किन सक्छ । अहिले म बाहिर छु । के भएको रहेछ ! त्यस विषयमा अध्ययन गर्छु ।”
सञ्चालक अग्रवालकै कुरालाई आधार मान्ने हो भने पनि प्याकिङ गरिएको चामलको बोरामा पछाडि हानिएको छापमा समेत तौल र ब्याच नम्बर उल्लेख नहुनुमा कैफियत देखिन्छ । यस विषयमा सम्बन्धित निकायले छानबिनगरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने देखिएको छ । बाेरा हेर्दा भिजेकाे जस्ताेपनि देखिन्न । कम्पनीमा कार्यरत एक कर्मचारीलाई गाेप्य सुत्र मार्फत बुझ्दा नाम नखुलाउने शर्तमा दुर्गम गाउँमा म्याद सकिएका चामलमा नयाँ मिति टाँस गरेर पठाउने गरेकाे खुलाए ।
तोकिएको मितिमा बिक्री नभएपछि त्यसलाई उत्पादन कम्पनीले पुनः प्याकिङ गरेर ग्रामीण क्षेत्रमा बिक्रीका लागि पठाउने गरेको घटना यसअघिबाटै जिल्लामा भेटिने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्व अध्यक्ष उपिनकुमार राईले बताए । “कुहिएको चामल भेटिएको यो जिल्लामा पहिलो घटना होइन । यसअघि पनि धेरै यस्ता घटनाहरु भएका छन् । यो विषयमा सबै सजग हुनुपर्ने अवस्था छ”, उनले भने, “व्यवसायको नाममा उपभोक्ताको अधिकारमाथि खेलबाड गर्ने छुट कसैलाई पनि छैन । गलत भएको रहेछ भने, सम्बन्धित निकायले कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ ।”
दश स्थानीय तह रहेको जिल्लामा अधिकांश दैनिक उपभोग्यवस्तु तराईका विभिन्न जिल्लाबाट आयात हुने गरेको छ । आयातित उपभोग्यवस्तुले धानिएको यो जिल्लामा तराईमा बिक्री नभएका सामग्री पठाउने गरेको पाइएको छ ।”
जिल्लामा गरिने बजार अनुगमन नाममात्रको हुने गरेको उपभोक्ताको आरोप छ । एउटा ठाउँबाट अनुगमन शुरु भयो भने बजारभरका सबै व्यापारीलाई अगाडि नै खबर पु¥याउने र म्याद नाघेका सामग्री लुकाउन लगाउने गरिएको स्रोतको दाबी छ । व्यापारीहरुलेपनि सस्तोमा ल्याएर बेच्न पाउँदा नाफा धेरै हुने गरेकाले याे अपराधिक काम गरिरहेका छन् ।”