२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अहिलेको राम मन्दिरमा थियो दुनियाँका मुस्लिमहरुको पवित्र मस्जिद, लिइएको थियो २ हजारको ज्यान

The present Ram Mandir used to be the holy mosque of the Muslims of the world

काठमाडौं । आज भारतको उत्तर प्रदेशस्थित अयोध्यामा अलौकिक राम मन्दिरको उद्घाटन तथा भगवान रामको मुर्तीमा प्राणप्रतिष्ठा गरिएको छ । अहिले राम मन्दिर रहेको स्थानमा १६ औं शताब्दीमा बनेको दुनियाँका मुस्लिमहरुको पवित्र स्थल बाबरी मस्जिद थियो । त्यहाँको जमिनलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच वर्षौंदेखि विवाद थियो । सन् २०१९ मा भारतको सर्वोच्च अदालतको हिन्दुको पक्षमा फैसला सुनाएपछि मस्जिद हटाएर राम मन्दिर बनाइएको हो ।

हिन्दुहरुको आस्थाको केन्द्र मानिने सोही अयोध्यामा १६ औँ शताब्दीको बाबरी मस्जिद पनि रहेकाले सो क्षेत्र मुस्लिम समुदायको समेत पवित्र तीर्थस्थल मानिन्छ । हिन्दूहरुले त्यहाँ पहिले रामको मन्दिर रहेको तर मुस्लिम समुदायले त्यसलाई भत्काएर बाबरी मस्जिद बनाएको दाबी गर्दछन् । तर मुस्लिम समुदायले भने आफूहरुले १९४९ देखि नै त्यहाँ प्रार्थना गर्दै आएको बताउँछन् ।

यही विवादका बीच सन् १९९२ मा हिन्दूहरूको एक समूहले त्यहाँको बाबरी मस्जिद भत्काइदियो । त्यसपछि भड्किएको दंगामा कम्तिमा २ हजार मानिसको ज्यान गयो । हिंसा मत्थर भएपछि मस्जिद भत्काएको ठाउँमा हिन्दूहरूले रामको मूर्ति स्थापना गरेर त्यसको पूजा गर्न थाले । त्यसैले हिन्दु र मुस्लिम कसको हक लाग्ने भनेर त्यहाँ वर्षौंदेखि अन्योल थियो ।

तर भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जन गोगोई नेतृत्वको पाँच सदस्यीय बेञ्चले अयोध्याको विवादित जग्गामा हिन्दूहरुकै हक लाग्ने फैसला गरेको थियो । साथै ट्रष्टमार्फत मन्दिर बनाउन र मुस्लिम समुदायलाई मस्जिद बनाउनका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउन पनि अदालतले आदेश दिएको थियो । अदालतको आदेश अनुसार राम जन्मभूमि ट्रष्टमार्फत् अयोध्यामा भव्य राम मन्दिर बनाइएको हो । राम मन्दिर ७.२ एकड जग्गामा बनेको छ । मन्दिरको पूरै जग्गा भने ७० एकड छ । तीन तले राम मन्दिर बनाउन झन्डै २१ करोड ७० लाख अमेरिकी डलर खर्च भएको अनुमान छ । मन्दिरको गर्भगृहमा सवा चार फिट अग्लो रामको मूर्ति राखिएको छ । केही हिन्दू सन्त नेता र विपक्षीहरुले भने राम मन्दिरको प्राण प्रतिष्ठाको कार्यक्रम बहिस्कार गरेका छन् । प्राण प्रतिष्ठालाई प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै उनीहरु असन्तुष्ट छन् ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस