काठमाडौं । आज सूर्य उत्तरायण हुने महिना माघको ८ गते, पौष शुक्ल द्वादशी, सोमवासर, मृगशिरा नक्षत्र, आनन्दयोग आदि विशिष्ट योग परेको ऐतिहासिक दिन । भगवान् रामको मूर्तिलाई नवनिर्मित मन्दिरभित्र वैदिक विधिपूर्वक स्थापना गर्न लागिएको दिन । हामी वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरू जसको मुख्य नारा नै सर्वे भवन्तु सुखिनः छ त्यस्ता चराचर जगत्का हितचिन्तकहरूका लागि महत्त्वपूर्ण दिन । विभिन्न कठिनाईलाई परास्त गर्दै कलियुगको प्रकोपमा पनि त्रेतायुगले स्थान पाई बनेको रामगृहमा रामको मूर्ति स्थापना हुन लागेको अविस्मरणीय दिन । अतः यस खालको महत्वपूर्ण दिनमा सत्य सनातन वैदिक धर्मावलम्बी ॐकार परिवारहरू त खुशी छौँ छौँ, संसारका कुना कुनामा बसोबास गरिरहेका सत्यवादी धर्मपरायणहरू पनि हर्षविभोर नै छन् । सत्यमेव जयते अर्थात् जसरी पनि सत्यको जित हुनै थियो र भयो पनि ।
रामजन्मभूमिमा त्यहाँको ऐतिहासिक मन्दिर ध्वस्त पारी त्यसैमाथि बनाइएको बाबरी मस्जिदलाई हिन्दू स्वयंसेवकहरूद्वारा विस्थापित गरी केही वर्ष पहिले नै राममन्दिर बनाउन लागिएको थियो । तर भारतीय न्यायालयमा मुद्दा परेकोले र तात्कालिक सरकार बाधक भएकाले सो कार्य रोकिएको थियो । तर न्यायालयले पनि सो स्थान रामजन्मभूमि भएकाले र त्यहाँ प्राचीन राममन्दिर पहिलेदेखि भएकाले बाबरी मस्जिद त्यहाँ रहन नसक्ने भनी गरेको ऐतिहासिक आदेशपछिको छोटो समयमा भव्य रामगृह तयार भयो र त्यहाँ पहिलेदेखि नै पूजिँदै आएका रामविग्रहलाई केही दिन अघि स्थापना गरी वैदिक विधिपूर्वकको पूजाआजाका साथ आजैदेखि सबैका लागि दर्शन गराउन लागिएको हो । यस ऐतिहासिक दिनको उदघाटन भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गर्दैछन् । यस किसिमको ऐतिहासिक दिनको पनि शिवावतार आद्य गुरु शङ्कराचार्य परम्परामा दीक्षित भारतका केही पीठमा आशीन आचार्यहरूले मन्दिरको विषयलाई लिएर केही नकारात्मक टिप्पणीहरू गर्नुभएको छ । यता मन्दिर मिलेन, उता यसो भयो, त्यता त्यसो भयो, हामीलाई बोलाइएन भन्दै केही शङ्कराचार्य पीठमा पदाशीन स्वामीहरूले मन्दिरको उदघाटनको मुखमा आएर विधर्मीहरूलाई नै सहयोग पु¥याउने खालको वक्तव्य जारी गर्नुभएको छ । तर दक्षिण एवम् पश्चिम पीठका शङ्कराचार्य एवम् ज्योतिर्मठका वासुदेवानन्द सरस्वतीले भने राममन्दिर उदघाटन अत्यन्तै शुभ मुहूर्तमा वैदिक विधिअनुरूप नै भएकाले यो ऐतिहासिक दिनको सबैले विना विवाद जयजयकार मनाउनुपर्ने भनी वक्तव्य जारी गर्नुभएको छ भने पूर्व पीठमा आशीन निश्चलानन्द स्वामीले केही शास्त्रीय कुराहरू अघि सार्दै यसलाई यसरी गर्दा राम्रो हुने भनी वक्तव्य जारी गर्नुभएको छ । तर, जगद्गुरु रामभद्राचार्यले त राममन्दिर विरुद्ध बोल्ने जो कोही पनि राजनीतिक रूपमा प्रेरित गलत मानिस भनेरै अन्तर्वार्ता दिनुभएको छ ।
वैदिक सत्य सनातन धर्ममा ह्रास आउँदा धर्मको विजय र अधर्मको नास गराउनका लागि अवतरित आद्य गुरु भगवान् शङ्कराचार्यद्वारा स्थापित मठहरूमा आशीन आचार्यहरूका कुराले जनमानसमा प्रभाव पार्नु स्वाभाविकै हो । जनमानसमा अहिलेका आचार्यहरूको पनि आद्य गुरु शङ्कराचार्यकै स्थानमा राखी श्रद्धाभाव प्रकट गर्ने चलन छ नै । सानोतिनो हिसाबले शङ्कराचार्य पदमा आशीन हुन सकिँदैन नै । त्यहाँ आशीन हुनका लागि विभिन्न शास्त्रचर्चामा उत्तीर्ण भई ब्राह्मण कुलमा जन्म लिएको आबाल ब्रह्मचारी हुँदै सन्यासी भएको हुनैपर्दछ । त्यहीअनुरूप नै हाल पनि पूर्व दिशा उडिशामा स्थापित गोवर्धन पीठका शङ्कराचार्यमा श्री निश्चलानन्द सरस्वती महाराज आशीन हुनुहुन्छ भने दक्षिण दिशा रामेश्वरममा स्थापित श्रीश्रृङ्गेरीमठमा भारती कृष्णतीर्थ महाराज पदाशीन हुनुहुन्छ । त्यस्तै पश्चिम दिशा द्वारका गुजरातमा स्थित शारदापीठमा स्वामी श्री सदानन्द सरस्वती महाराज पदाशीन हुनुहुन्छ भने उत्तर दिशा उत्तराखण्डमा स्थित ज्योतिर्मठमा अविमुक्तेश्वरानन्द सरस्वती महाराज आशीन हुनुहुन्छ । तर, उत्तराखण्डमा स्थित ज्योतिर्मठ केही समयअघिदेखि नै विवादित मठ भइरहेको छ । हालै मात्र ब्रह्मलीन शारदापीठ गुजरातका शङ्कराचार्य स्वामी स्वरूपानन्द सरस्वतीले आफू ज्योतिर्मठको पनि शङ्कराचार्य भएको कुरा गरिरहनुभएको थियो भने यस स्थानका लागि स्वामी वासुदेवानन्द सरस्वती महाराज र ब्रह्मलीन स्वामी माधवाश्रम स्वामी महाराजको पनि दाबी रहेको थियो । दुबैजना ब्रह्मलीन भइसक्नुभएकाले वासुदेवानन्द सरस्वती महाराज स्वतः त्यस स्थानको शङ्कराचार्य हुनुपर्ने भएतापनि अविमुक्तेश्वरानन्द सरस्वती महाराजलाई ब्रह्मलीन स्वरूपानन्द सरस्वती महाराजका नीजि सचिव सुबोधानन्द सरस्वती महाराजले ज्योतिर्मठको शङ्कराचार्यमा नियुक्ति दिनुभएको थियो । माथि उल्लेखित केही विधि र विधान अनुरूप शङ्कराचार्य नियुक्त हुने परम्परा रहेतापनि राजनीतिक नियुक्ति जस्तो तरिकाले शङ्कराचार्य घोषणा गरियो भनी ज्योतिर्मठका शङ्कराचार्यको नियुक्तिमा विवाद भइरहेको छ भने स्वामी श्री वासुदेवानन्द सरस्वती महाराजले पनि ज्योतिर्मठको शङ्कराचार्य आफू नै रहेको वक्तव्य जारी गर्नुभएको छ । धर्मरक्षाका लागि स्थापित भगवान् शङ्कराचार्यद्वारा स्थापित मठहरूमा यस किसिमका राजनीति भइरहनु पक्कैपनि खेदजनक कुरो रहेको छ । त्यसैलेपनि सर्वसाधारण वैदिक धर्मप्रेमीहरूको माग पनि भगवान् शङ्कराचार्यद्वारा स्थापित यी मठहरूमा पदाशीनहरूले धर्मरक्षार्थका काम गरून् न कि राजामहाराजाको जस्तो स्वार्थी सम्मानका लागि भन्ने नै छ । यस किसिमले लडाई झगडाका साथ यी मठहरूमा मठाधीश हुँदैमा भगवान् शङ्कराचार्यकै रूपमा मान्न सकिँदैन । स्वमीजीहरूको व्यवहार अनुरूप नै सर्वसाधारणले व्यवहार गर्ने हुन् । करपात्री महाराज जस्ता निर्विवादित, वैष्णवादि जगद्गुरुहरूद्वारा पुजित, विशिष्ट विद्वान् त शङ्कराचार्य पदमा पदाशीन नभएर पनि आद्य गुरु शङ्कराचार्यकै पद अनुसार वैदिक धर्म अनुकुल अभूतपूर्व कार्य गरेर ब्रह्मलीन हुनुभयो ।
त्यस्तै स्वामी अखण्डानन्द सरस्वती महाराज आदि शङ्कराचार्य परम्परामा दीक्षित स्वामीहरूले शङ्कराचार्यको पदमा आँखा लगाउनुभएन । स्वामी महेशानन्द गिरि महाराज आदि पनि त्यसतर्फ कुनै चिन्तन नगरी भगवान् शङ्कराचार्य विहित कर्म गरी ब्रह्मलीन हुनुभयो । नेपालमा पनि शङ्कराचार्य परम्परामा दीक्षित स्वर्गद्वारी महाप्रभु, खप्तड बाबा, स्वामी परमानन्द सरस्वती, डा. स्वामी रामानन्द गिरि आदि स्वामीहरू पनि कुनैपनि पदको लोभ नगरिकनै धर्मसेवामा लाग्नुभई ब्रह्मलीन हुनुभयो भने वर्तमानमा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरि, स्वामी ज्ञानानन्द सरस्वती, स्वामी रमणानन्द गिरि, स्वामी विवेकानन्द सरस्वती, स्वामी केशवानन्द गिरि एवम् नवयुवक स्वामीजीहरू पनि निस्वार्थ रूपमा आफ्ना गुरुहरूको महिमा गानका साथ भगवान् शङ्कराचार्यद्वारा निर्देशित वैदिक सिद्धान्त अनुरूप नै धर्मसेवामा लागिरहनुभएको छ । त्यसैले भारतमा पनि शङ्कराचार्य पदमा पदाशीन हुन चाहने स्वामीहरूले यी यस्तै खालका उदाहरणको अनुसरण गर्दै निस्वार्थ रूपमै धर्मसेवामा लाग्नुभएमा सम्पूर्ण वैदिक धर्मावलम्बीहरू हर्षविभोर हुने थिए । राममन्दिर कुनै खेलवाडी तरिकाले निर्माण भएको नभई धेरै विद्वानहरूको सुझाव सल्लाहका साथ बनेकाले यसका विषयमा प्रसिद्ध हुने खालको वक्तव्य मात्र ननिकाली धर्मसम्मत कुरो गर्नुपर्ने धर्मप्रेमी आम जनसमुदायको माग रहेको छ ।
हामी नेपालीहरूलाई पनि राममन्दिर बन्ने निश्चित भइसकेपछि कहिले त्यो भारतको अयोध्या त नक्कली हो, खास अयोध्या त हाम्रै चितवनको माडीमा छ भन्ने खालका समाचारले प्रभावित पारिएको छ । हामी पनि यस किसिमको ऐतिहासिक कुरो कस्ता खालका मानिसले भनेका हुन् भन्ने नबुझिकनै बेलाबेलामा अत्यन्तै रामभक्त हुने गरेका छौँ । एक कल्पमा ७१ ओटा महायुग हुन्छन् अर्थात् ७१ ओटा सत्य, त्रेता, द्वापर र कलि युग दोहोरिन्छन् । हामीले सङ्कल्प गर्दा १४ ओटा मनुमध्ये वैवस्वत मनुको २८ औँ महायुग भनी उच्चारण गर्दछौँ । अनि २८ ओटा महायुग जाँदा सत्य, त्रेता, द्वापर युग पनि २८ गए भने कलियुग चलिरहेको छ । अनि कुनै त्रेता युगमा भगवान् राम कता जन्मिनुभयो । कुनैमा कता । सामान्य विषय हो । अहिलेको वर्तमान त्रेता युगमा भगवान् राम हालको भारतको अयोध्यामा जन्मिनुभयो भने हाम्रो ठोरीमा पनि कुनै त्रेतामा जन्मिनुभयो होला । त्यस्तै भारतकै पश्चिम बङ्गालमा पनि राम जन्मिएको कुरा आउँछ । त्यसैले यस किसिमका पौराणिक कुरामा विधर्मीको जालोमा नपरिकनै वर्तमान महायुगमा दशरथका पुत्रका रूपमा हालको भारत अयोध्यामा जन्मिएका भगवान् रामको जन्मभूमिमा हुन गइरहेको यो ऐतिहासिक दिनलाई हामी आम नेपालीले पनि भव्यरूपमा मनाऔँ । जहाँ राम त्यहीँ अयोध्या भन्ने कुराको भाव बुझौँ । जय श्रीराम ।