२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यू-१९ विश्वकप : न्युजिल्यान्डसँग नेेपाल पराजित

Nepal lost to New Zealand in U-19 World Cup

काठमाडौं, माघ ७ । आइसिसी यू-१९ विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा आइतबार भएको समूह ‘डी’ को खेलमा नेपालमाथि न्युजिल्यान्डले ६४ रनको जित हात पारेको हो। न्युजिल्यान्ड दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा २३८ रन मात्र जोड्न सक्यो।

न्युजिल्यान्डविरूद्ध नेपालका ओपनिङ ब्याटर अर्जुन कुमालले ९० रन बनाउँदा अरु ब्याटर चल्न सकेनन्। नेपालका लागि अर्जुनले कठिन परिस्थितिमा इनिङ्ग्स सम्हालेका थिए। ९० रन जोडेसँगै अर्जुन यू-१९ विश्वकपको एकै खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा दोस्रो स्थानमा पुगे। अर्जुनले सन् २००४ मा कनिष्क चौगाईले प्रहार गरेको रन जति नै आइतबार न्युजिल्यान्डविरुद्ध बनाए। चौगाईले पपुवा न्युगिनीविरुद्ध नटआउट ९० रन जोडेका थिए।

यू-१९ विश्वकपको एकै इनिङ्ग्समा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याटर भने प्रदीप ऐरी हुन्। ऐरीले सन् २०१२ मा नामिबियाविरुद्ध ९८ रन जोडेका थिए। अर्जुनले ९० रन जोड्ने क्रममा १०४ बलमा १२ चौका प्रहार गरे। उनी ३७.२ ओभरमा आठौं विकेटको रुपमा आउट हुँदा नेपालले १७६ रन जोडेको थियो। उनी आउट भएसँगै नेपालको आसा सकिएको थियो। अर्जुन आउट भएपछि आकास चन्दले १४ रनको योगदान दिए। उनले २६ बलमा १ चौका प्रहार गरे।

सुवास भण्डारी र तिलक भण्डारीले दशौं विकेटका लागि नटआउट ३७ रनको साझेदारी गरेका थिए। सुवासले नटआउट ३३ रन र तिलकले नटआउट १७ रन जोडे। त्यसअघि खराब सुरुवात गरेको नेपालका ओपनर दीपक बोहरा ‘ए’ पहिलो ओभरमै शून्यमा आउट भए भने छैटौं ओभरमा आउट भएका आकास त्रिपाठीले २ रन मात्र जोड्न सके।

कप्तान देव खनालले ३६ रन जोडेपछि नेपालको रन स्कोर बढेको थियो। उनी ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै १६औं ओभरको अन्तिम बलमा आउट भए। लगत्तै अर्को ओभरमा उत्तम थापा खाता नै नखोली पेभिलियन फर्के। यस्तै गुल्सन झा २०.२ ओभरमा २ रनमा आउट भए। यस्तै नेपालले छैटौं विकेटको रुपमा दिपक बोहरा ‘बी’ लाई १५ रनमा गुमायो भने दीपेश कँडेल शून्यमा आउट भए। बलिङमा न्युजिल्यान्डका मासन क्लार्कले ३ विकेट लिए। ‍उनले ८ ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए।

रेडीको शतकमा न्युजिल्यान्डको ३०२ रन

दक्षिण अफ्रिकामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले स्नेहिथ रेडीको शतकमा ८ विकेटको क्षतिमा ३०२ रन जोड्यो। रेडीले नटआउट १४७ रन जोड्ने क्रममा १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। कप्तान ओस्कार ज्याकसनले पनि उत्कृष्ट ब्याटिङ गरे।ज्याकसनले ७५ रन जोड्ने क्रममा ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।

४१.५ ओभरमा आउट हुनुअघि उनले चौथो विकेटका लागि रेडीसँग १५७ रनको साझेदारी गरेका थिए। ज्याकसनलाई चौथो विकेटको रुपमा आउट गर्ने क्रममा नेपालका आकाश त्रिपाठीले बोल्ड गरे। त्यसअघि न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदा ६७ जोडेको थियो। रेडी र ज्याकसनको साझेदारीले न्युजिल्यान्ड विशाल योगफलतर्फ अघि बढेको थियो।

ज्याकसन आउट भएको अर्को ओभरमा नेपालका गुल्सन झाले दुई बलमा दुई विकेट लिए। ४३औं ओभरको दोस्रो बलमा ओभरमा गुल्सन झाले स्ट्याकपोललाई शून्यमा आउट गरे। अर्को बलमा झाले ज्याक कमिन्सलाई शून्यमै आउट गरे। यस्तै एलेक्स थमसन ४८औं ओभरमा १३ रन जोड्दा सुवास भण्डारीबाट बोल्ड भए।

पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको थियो। नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए। उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे। वाट्सनले १४ रन बनाउने क्रममा २५ बल खेलेर २ चौका प्रहार गरे।

१३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो। नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे। जोन्सले ४५ बल खेल्दा ५ चौका प्रहार गरेका थिए। स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए। उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए।

बलिङमा नेपालका सुवास भण्डारीले ३ विकेट लिन सफल भए। यस्तै गुल्सन झाले २ विकेट आफ्नो नाममा लेखाए। दिपेश कंँडेल, तिलक भण्डारी र आकास त्रिपाठीले १-१ विकेट लिन सफल भए। समूहमा अब नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।

यद्यपी नेपालले वार्म अप खेल र आजसम्मका विश्वकपका खेलमा जित हासिल गरेको थियो । तेस्रो पटकपनि न्युजिल्यान्डलाई जित्दै नेपालले उपाधिमाथी दावेदार प्रस्तुत गर्छ भन्ने अपेक्षाकाबीच नेपाल फराकिलो अन्तरले पराजित भयो । यू–१९ विश्वकपमा नेपाल बलियो टीम मानिन्थ्यो ।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस