२०८१ मङ्सिर ३ गते सोमवार | 2024 November 18th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फिल्म छायांकन गर्न अस्ट्रेलियामा बनाइयो ‘नेपाली गाउँ’

A 'Nepali Village' was built in Australia

अस्ट्रेलिया । हलिउड फिल्म ‘आइस रोड’ को दोस्रो श्रृङ्खला ‘आइस रोड–२ : टु दि स्काई’ को निर्माण टोली हाल अस्ट्रेलियाको भिक्टोरियामा छ । अस्कर नोमिनेसनमा परिसकेका लायम निसन अभिनित फिल्ममा नेपाली दुर्गम गाउँको कथा समेट्नुपर्ने भएपछि निर्माण टोलीले भिक्टोरिया राज्यको गिप्सल्याण्डस्थित वाल्हाला गाउँको एक क्षेत्रलाई नेपाली हिमाली भेगको झल्को दिने गरि सजाएको छ ।

नेपालको पहिचान र संस्कृति झल्कने गरि तयार पारिएको गाउँमा झण्डै एकसातासम्म फिल्मको छायांकन गरिने स्थानीय समाचारमाध्यमले जनाएका छन् । फिल्मको कथामा अभिनेता लिसन आफ्नो भाईको अस्तु सेलाउन सगरमाथा जाँदाको दृश्य समेटिएको छ । त्यसका क्रममा आफ्ना गाईडसँगै गएका लिसन उक्त गाउँमा दुश्मनको घेरामा पर्छन् र आफ्नो ज्यान जोगाउनका लागि लड्न बाध्य हुन्छन् ।

फिल्ममा सहभागी हुनका लागि भिक्टोरिया राज्यमा रहेका २० देखि ७० बर्षसम्मका नेपाली महिला तथा पुरुषलाई निर्माण कम्पनीले आग्रह नै गरेको थियो । कति नेपालीले अभिनयको अवसर पाए भन्ने उल्लेख नगरिएको भएपनि फिल्ममा नेपालको पृष्ठभूमि र नेपाली हिमाल झल्कने दृश्यहरू भने समावेश हुने भएका छन् । यसका लागि निर्माण कम्पनीले भिक्टोरियाको राजधानी मेलबर्नदेखि झण्डै दुईसय किलोमिटरमा रहेको उक्त क्षेत्रका होटल लगायतका स्थानीय क्षेत्रलाई नेपालको हिमाली भेगको स्वरुप दिएर बुधबारदेखि छायांकन सुरू गरेको हो ।

काल्पनिक नेपाली परिवेश तथा स्थान देखाएर फिल्म छायांकन गरिएको भएपनि भिक्टोरियाका नेपाली भने उत्साहित छन् । उनीहरू हलमा फिल्म हेर्दा काल्पनिक नभई वास्तविक नेपालकै रुपमा बुझिने भएकाले यसले अन्तरास्ट्रिय स्तरमा नेपाली पर्यटनको विकासमा सहयोग पुग्ने उनीहरूको विश्वास छ ।

भिक्टोरियास्थित नेपाली समाज (न्याभ) का अध्यक्ष प्रेमप्रकाश उप्रेती विदेशी गाउँलाई नेपाली जस्तो बनाएर छायांकन गरिनु सकारात्मक भएपनि नेपालकै हिमाली भेगमा छायांकन गराउन पाएको निकै राम्रो हुने बताउँछन् । ‘फिल्ममार्फत् नेपालबारे केही कथा त देखाइएला तर नेपालकै हिमाली भेगमा छायांकन गर्न पाएको भए अझ सुन्दरता थपिने थियो,’ उनले भने । जोनाथन हेन्सलीले निर्देशन गरेको फिल्ममा निसनका साथै बर्नाड क्युरी, जोफ मोरेल, ग्रेस ओसुलेभान लगायतको अभिनय छ ।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस