२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकपमा क्रिकेटका महारथी पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग नेपालको खेल योग यस्तो छ

ICC U-19 World Cup 2024 Cricket Nepali Team Match

काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ क्रिकेट शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको छ । आठौं पटक यू-१९ विश्वकप क्रिकेट खेल्न लागेको नेपालले आइतबार न्युजिल्याण्डसँग खेल्नेछ । गत फागुनमा आईसीसी यू-१९ एसिया डिभिजन-१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि यू-१९ विश्वकपमा स्थान पक्का गरेको थियो ।

नेपालको समूह डीमा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । नेपालले यू-१९ विश्वकपमा आफ्नो लक्ष्य सुपर सिक्स राखेको छ ।

नेपालले यू-१९ विश्वकप अघि चार अभ्यास खेल खेलकोछ । जसमा तीन खेल जित र एक खेल वर्षाको कारण नतिजाविहीन रह्यो । नेपालले अभ्यास खेलमा स्कटल्यान्ड र नामिबियालाई हराएको थियो । वेस्टइन्डिजसँगको खेल वर्षाको कारण रद्द भएको थियो ।

समूहहरु

ए : भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका ।
बी : इंग्ल्यान्ड, दक्षिण अफ्रिका , वेस्टइन्डिज र स्कटल्यान्ड ।
सी : अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया ।
डी : नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान ।

नेपालको खेल तालिका, समय र स्थान
माघ ७ (२१ जनवरी) आइतबार – नेपालविरुद्ध न्युजिल्यान्ड
माघ १० (२४ जनवरी) बुधबार – नेपालविरुद्ध पाकिस्तान
माघ १२ (२६ जनवरी) आइतबार-नेपालविरुद्ध अफगानिस्तान

स्थान: नेपालका सबै खेल बफेलो पार्क, इस्ट लन्डन दक्षिण अफ्रिका ।

समय : सबै खेलहरु नेपाली समय अनुसार दिउँसो १ : ४५ मा हुनेछन् ।

लाइभ : आईसीसी टिभी र स्टार पोर्ट्सका च्यानलहरु ।

शीर्ष तीन टोली सुपर सिक्समा

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । १२ टिम सुपर सिक्सको २ समूहमा विभाजान गरिएको छ । । समूह ए र डी का शीर्ष तीन/तीन टोली एक सुपर सिक्समा हुनेछन् । अर्को सुपर सिक्समा समूह बी र सी का शीर्ष तीन तीन टोली हुनेछन् । दुवै सुपर सिक्सबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । पुछारमा रहने सबै टोलीले १३ देखि १६ औं स्थानका लागि प्लेअफ खेलहरु खेल्नेछन् ।

नेपालले खेलेका यू-१९ विश्वकपका संस्करण

नेपालले २००० मा श्रीलंकामा भएको यू-१९ विश्वकपबाट डेब्यू गरेको थियो । नेपालले २००० देखि २००८ सम्म पाँच पटक लगातार यू-१९ विश्वकप खेलेको थियो ।

त्यसपछि हरेक दुई वर्षको अन्तरमा ७ पटक यू-१९ विश्वकप भएका छन् । ती ७ मध्येका २ वटा विश्वकप मात्रै नेपालले खेलेको छ । नेपालले २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो । २०१०, २०१४, २०१८, २०२० र २०२२ मा यू-१९ विश्वकप खेल्न सकेको थिएन ।

उत्कृष्ट नतिजा

यू-१९ विश्वकपमा नेपालको उत्कृष्ट प्रदर्शन २०१६ मा क्वाटरफाइनल पुग्नु हो । दोस्रो पटक समूह चरण पार गरेको नेपाल २०१६ मा क्वाटरफाइनलमा घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो । २००० मा डेब्युमै नेपाल दोस्रो चरण पुगेको थियो । तर, दोस्रो चरणमा क्वाटरफाइनल नभई ८ टिमलाई दुई समूहमा विभाजन गरेर सुपर लिग गरेर खेलाइएको थियो । यसबाहेक समूह चरणबाटै बाहिरिने टिमहरुबीच खेलाइने प्लेट च्याम्पियनसिपतर्फ भने नेपालले २००६ मा उपाधि जितेको थियो ।

प्लेयर्स टु वाच : अर्जुन कुमाल

अर्जुन कुमाल नेपाली क्रिकेटमा भविष्यका खम्बा हुन् । नेपाललाई यू-१९ विश्वकपमा पुर्‍याउन उनको योगदान निकै महत्वपूर्ण छ । उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । उनले गत अक्टोबरमा मलेसियामा सम्पन्न एसिसी यू-१९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्ध १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । त्यो कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा प्रहार गरेको उच्च रन हो ।

उनले कुशल मल्लले मंगोलियाविरुद्ध टी-२० आईमा प्रहार गरेको १३७ रनको इनिङ तोडेका थिए । अर्जुनले वर्ष गत फागुनमा आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनले गत डिसेम्बरमा अफगानिस्तानविरुद्ध ९१ रनको एक उत्कृष्ट इनिङ खेलेका थिए । उत्कृष्ट ब्याटिङ टेक्निक, जिम्मेवार प्रदर्शन र धैयतापूर्ण खेल्ने शैलीलाई निरन्तरता दिंदै यू-१९ विश्वकपमा सानदार प्रदर्शन गर्न सक्छन् ।

प्लेयर्स टु वाच : गुलशन झा

नेपाली सिनियर टोलीका अलराउन्डर गुलशन झाबाट टोली ठूलो अपेक्षा गर्नेछ । उनले अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध शतक हानेका थिए । पछिल्लो एक वर्षदेखि नेपाली टोलीबाट खेल्दै उनले अलराउन्ड प्रदर्शन गरेका छन् । एसोसिएटसँगै टेस्ट टोली जिम्बावे, भारत, पाकिस्तान, वेस्टइन्डिज लगायतका विश्वका स्टार खेलाडीसँग खेलेको अनुभव उनीसँग छ । त्यसैले मध्यक्रममा उनको ब्याटिङ निकै महत्वपूर्ण हुनेछ ।

अर्कोतर्फ दक्षिण अफ्रिका तीव्र गतिका बलरलाई बढी सहयोग मिल्ने गर्दछ । गुलशनको बलमा गति र वाउन्स हुँदा टोलीलाई जिताउन उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । पछिल्लो समय टेस्ट टोलीसँग खेल, सिनियर टोलीबाट दबाबमा राम्रो प्रदर्शन र दक्षिण अफ्रिका कन्डिसन उनलाई मिल्ने किसिमको हुँदा नेपालबाट सानदार प्रदर्शन गर्न सक्छन् ।

नेपाली यू-१९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल (विकेटकिपर), विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द ।

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस