२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिदा नबस्ने प्रहरीलाई स्पष्टीकरण सोध्ने डीएसपी आफै स्पष्टीकरण दिँदै हैरान, भन्छन् गलत बुझाइ भयो

काठमाडौं । जिल्ला प्रहरी खोटाङले पुस २६ गते मातहतमा कार्यरत ६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्यो । कारण भने अनौठो देखिन्थ्यो । नियमअनुसार पाउनु पर्ने बिदा नलिएको भन्दै ५ प्रहरी जवान र एक सहायक हवल्दारलाई कारण सोधिएको थियो । स्पष्टीकरणको समाचार जतातै आएपछि खोटाङ प्रहरी प्रमुख आफैँलाई भने अहिले स्पष्टीकरण दिँदाको हैरान छ ।

‘यो हामीले स्पष्ट हुनका लागि सोधेको थियौँ, कुनै कारबाही गर्नका लागि थिएन’, डीएसपी पुरुषोत्तम खड्काले भने । बिदा बस्दा प्रहरी कर्मचारीको मानसिक र पारिवारिक जीवन पनि राम्रो हुने र त्यसले संगठनलाई पनि राम्रो गर्ने भएकाले बिदा बस्न कर्मचारीलाई मोटिभेट गरिएको उनले बताए ।

‘यदी कोही बिदा बसिरहेको छैन भने उसको केही समस्या पो छ कि भन्ने पनि हो । त्यसलाई संगठनले पनि बुझ्नुपर्छ । त्यही भएर पनि स्पष्टीकरण सोधिएको हो’, उनले भने । प्रहरी नियमावलीमा ३० दिन घर बिदा र १२ दिन भैपरि बिदा गरी कुल ४२ दिन बिदा पाउने व्यवस्था छ । बिदा नबस्दा त्यसबापतको छुट्टै पारिश्रमिक पाइँदैन ।

‘तर मैले केही केही समाचारमा प्रहरीलाई बिदा पठाएर रासन पचाउन खोजियो भन्ने पनि देखेँ । जबकि रासनबापतको रकम सम्बन्धित प्रहरी कर्मचारीको खातामै आउँछ । त्यसैले बिदा बस्दा उनीहरूको रासनको रकम पनि जोगिन्छ’, उनले भने । उनले संगठनको आन्तरिक कामकारबाही गलत तरिकाले बाहिर आएको बताए ।

‘कोही कर्मचारी ६/७ महिनासम्म बिदा बस्दैन भने कुनै समस्या छ की भनेर बुझ्नु संगठनको दायित्व पनि हो । अरु प्रहरी युनिटहरूमा पनि यस किसिमले स्पष्टीकरण सोधेर समस्याहरू बुझ्ने सुन्ने काम हुन्छ’, उनले भने । डीएसपी खड्काले स्पष्टीकरण सोधिएका सबै कर्मचारी अहिले बिदामा गएको बताए । यस्तो थियो स्पष्टीकरण पत्र

 

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस