२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री दाहाल कम्पाला प्रस्थान, खड्कालाई दिइयो कार्यवाहक जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गर्नुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान उहाँ कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही ५–६ माघमा युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाल नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेका छन् ।

नेपाल असंलग्न आन्दोलनका संस्थापक राष्ट्रहरूमध्ये एक हो । नेपालको परराष्ट्र नीति असंलग्न सिद्धान्तमा आधारित भएकाले यो भ्रमण निकै महत्वपूर्ण हुने विश्वास गरिएको छ । प्रधानमन्त्री दाहालले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई ५ माघमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनले मन्त्रिस्तरीय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औं शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुंगो लगाउने बताइएको छ ।

दाहालले आफ्नो सम्बोधन एवं सदस्य राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँगको भेटघाट महत्वपूर्ण हुने कुरा उल्लेख गर्नुभएको छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा सुदृढीकरण, राष्ट्रिय हित र साझा मुद्दाहरूको उठान एवं कार्यान्वयनका दृष्टिले रणनीतिक महत्वको हुने जनाइएको छ । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी ७ माघको बिहान ९ बजे स्वदेश फिर्ता हुनुहुनेछ । १९औं नाम शिखर सम्मेलनपछि तेस्रो दक्षिण शिखर सम्मेलन ७ देखि ८ माघमा कम्पालामा हुँदैछ । दक्षिण शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव लम्सालले गर्नुहुनेछ । यसैबीच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पाउनु भएको छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस