२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मनिषाभन्दा अब्बल बाजुराकी छाया, १० महिनामा लोकसेवाको ६ वटा परीक्षा पास गर्दै रचिन इतिहास

Manisha Chhya Record Break

बाजुरा, माघ ४ । जीवनमा एकै पटक यति धेरै सफलता र खुशी भेटिएला भन्ने कल्पना समेत थिएन छाया जैशीलाई । तर कठोर संघर्ष र दुख गर्दाको परिणामले नसोचेको खुसी र सफलता पनि मिल्ने रहेछ । त्यस्तै भयो छाया जैशीको जीवनमा । मेहनकै फल भन्नुपर्छ, छायाले १० महिनाको अवधीमा लोकसेवा आयोगले लिएको ६ वटा परीक्षा पास गरेर इतिहास रचिन् ।

यसरी एकपछि अर्को सफलता मिल्ने कुरा छाया आफैले सोचेकी समेत थिइनन् । ‘पढाइ राम्रै थियो । मेहनत त्यो भन्दा बढी नै गर्थीन् । तर जहाँ परीक्षा दियो, त्यहीँ पास हुन्छु भन्नेचाँहि लागेकै थिएन,’ जैशीले भनिन् । उनले २०८० को बैशाखदेखि माघसम्म ६ वटा लिखित परीक्षामा सफलता हासिल गरिन् । ती मध्ये कोशी प्रदेशमा मौखिम परीक्षा समेत सफल भएर सरकारी जागिर खान थालिसकेकी छन् ।

उनी हाल कोशी प्रदेशको उदयपुर जिल्ला ताप्ली गाउँपालिकामा कार्यरत छन् । बाँकी ४ वटाको मौखिक परीक्षाफल आउन बाँकी नै छ । तर पास हुनेमा छाया ढुक्क छन् । छायाको पारिवारिक कष्ट सुनिसाध्य छैन । अति विपन्न परिवार । ज्याला मजदुरी र खेती किसानी बाहेक अर्को विकल्प थिएन्, छायाको परिवारलाई हातमुख जोड्न । बुबा आमाले साँझ विहान खेतबारीमा काम गर्थे । दिनमा बुबा महानन्द्र जैशीले ज्यालामजदुरी गरेर कमाइले सन्तानको पढाइ खर्च र लत्ताकपडाको जोहो गर्नु पर्ने बाध्यता थियो ।

छाया जुन विद्यालयमा पढिन् । त्यही विद्यालयको शुल्क तिर्नका लागि पनि बुबा महानन्द्र जैशीले भवन निर्माणको काम गरे वापतको रकमबाट तिरेको वास्तविकता परिवारसँग रहेको छ । बुढीगंगा नगरपालिका ६ माल्ताकी छाया, कक्षा १ देखि १२ सम्म भानुदय माविमै पढिन् । २०७२ सालमा विद्यालयमा कृषि प्राविधिक कक्षा सुरु भयो । छायाका बुबाले जिद्दीले कृषि प्राविधिक शिक्षा नै पढ्न लगाए । विद्यालयको थोरै शुल्क तिर्न पनि परिवारसँग आर्थिक थिएन, भानुदय माविकै भवन निर्माणको काम गरेर तिर्नु परेको दुख छायाले सुनाउने गर्छिन् ।

परिवारले विपन्नताको संकट मात्रै भोग्नु परेन । ७ जना दिदीभाइको ठूलो भारी समेत आमाबुबाकै काँधमा थियो । छाया ७ दिदी भाइमध्ये चौथो सन्तान हुन् । गाउँ नजिकैको विद्यालय बाहेक बाहिर लगानी लगाएर पढाउन सक्ने आर्थिक हैसियत नै थिएन्, जैशीको परिवारसँग । तर सानै देखिको सरकारी जागिर खाने सपना भने छायाले पुरा गरिन् । त्यो पनि इतिहासिक रेकर्ड नै कायम गरेर । एकै वर्ष ५ पटक लोकसेवा परीक्षा सफल भएकी भनेर गुल्मीकी मनिषा जिसीको नाम चर्चामा आइरहँदा छायाले ६ परीक्षा पास गरेको तथ्यांक बाहिर आएको हो । लोकसेवा पास गर्न शहर नै जानु पर्छ, भन्ने मान्यतालाई नै छायाले चुनौति दिइन् ।

भेटेनरी चौथो तहमा कोशी प्रदेश सिफारिस भएकी छायाले लोकसेवा आयोजको पहिलो परीक्षा कर्णाली प्रदेशबाट सफलता प्राप्त गरिन् । गएको बैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकाले पनि मौखिमपछि नाम वैकल्पिकमा राखियो । लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते रिजल्ट आएर सिफारिस भइन् । त्यसपछि पनि पौष २५ गत लुम्बीली प्रदेशमा भेटेनरी चौथो तह, पौष ९ गते संघिय लोकसेवा आयोग पाँचौ तह, पौष ३ गते बाग्मती पाँचौ तह र असोज १४ गते सुदूरपश्मिच प्रदेश चौथो तहमा लिखितमा नाम निस्किएको छ । चार परीक्षाको मौखिक परीक्षाफल प्रकाशित हुन बाँकी छ ।

भानुदय मावि बाजुराकै नमुना र पुरानो विद्यालय हो । कृषि प्राविधिक शिक्षालय तर्फका पनि भानुदयमै अध्ययन गरेका दर्जन बढीले लोकसेवामा नाम निकालिसकेका छन् । छायाको सफलताले सिंगो विद्यालय परिवार खुशी भएको प्राचार्य मनवीर खातीले बताए ।
छायाको सफलताले बुढीगंगा नगरपालिकाको पनि प्रतिष्ठा बढेको नगरप्रमुख रामबहादुर बानीयाँ बताए ।

 

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस