२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धनुषाको सडकमा मृत श्रीमान्‌सँगै घाइते भेटिएकी अस्मिताको पनि मृत्यु

Asmita who was found injured along with her dead husband on the road of Dhanusha also died

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ स्थित सडक छेउमा मृत श्रीमानसँगै घाइते अवस्थामा भेटिएकी अस्मिता शर्माको पनि उपचारको क्रममा मृत्यु भएको छ । हिजो बिहान २५ वर्षीय राधे सहनी मृत फेला परेका थिए भने । उनकी पत्नी अन्दाजी २० वर्षीया अस्मिता घाइते अवस्थामा थिइन् । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत् अस्मिताको गएराति मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक सहनी महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका हुन् । तीन महिनाअगाडि मात्रै राधेले पकडियाकी अस्मितासँग प्रेम विवाह गरेका थिए । प्रहरीका अनुसार राधे विवाहपछि श्रीमतीसँगै धनुषाको महेन्द्रनगरमा डेरा लिएर बस्दै आएका थिए । आइतबार ससुरालीबाट श्रीमतीलाई लिएर महेन्द्रनगरका लागि हिँडेका उनी सोमबार बिहान मृत भेटिए ।

घटनास्थलमा मोटरसाइकलका टुक्राहरू भेटिएको थियो । घटनास्थल हेर्दा उनी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । तर, दुर्घटना भएको मोटरसाइकल घटनास्थलमा नभेटेपछि घटना शंकास्पद मानिएको छ । श्रीमती अस्मिता बोल्न नसक्ने अवस्थामा भएकाले प्रहरीले घटना विवरण सोधपुछ गर्न सकेन । उनको पनि मृत्यु भएकाले अनुसन्धान असहज हुने देखिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले दुर्घटनामै राधेको मृत्यु भएको र घाइते उनकी श्रीमतीको पनि उपचारको क्रममा मृत्यू भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । उनले भने, ‘घटनास्थलमा मोटरसाइकल फेला नपरेपछि घटना शंकास्पद छ । तर, मोटरसाइकल भेटिसकेको छ । अर्काकै मोटरसाइकल थियो । ती व्यक्तिले मोटरसाइकल लगेका थिए । अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं । राधेसँगै अर्को मोटरसाइकलमा आइरहेका दुई युवक र दुर्घटना भएको मोटरसाइकलका धनीलाई नियन्त्रणमा लिएको डीएसपी अवाले बताए ।’

 

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस