२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शारीरिक सम्बन्ध राखेको शंका गर्दै भतिज र पत्नीको हत्या

Nephew and wife killed on suspicion of sexual relations

२४ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिका १२ मा पर्ने मिलनचोक नजिकै मुख्य सडकखण्डमा गत मंसिर ६ गते दिउँसो साढे १२ बजेतिर जुटका दुईवटा बोरा भित्र दुईवटा शव भेटिएका थिए । तत्काल पहिचान गर्न नसकिएका शवलाई टुंगो लगाउन प्रहरीलाई निक्कै सकस पर्यो ।

केरुङ्गा खोला नजिकै सुकुमबासी वस्तीको पारीतर्फ भेटिएको एक महिला र एक पुरुषको शव पहिचान गर्न प्रहरीलाई सकस पर्‍यो । सुरुमा उनीहरूको हुलिया सार्वजनिक गरेको प्रहरीले त्यसको केही दिनपछि अनुहारको स्केच तयार गरी सार्वजनिक गर्‍यो । अनुहार सामाजिक सञ्जालमा सार्वजनिक गर्न योग्य थिएन । ती स्केच देशभरका प्रहरी निकायमा पठाइयो । तर नेपालमा कहीँकतैबाट त्यो हुलियाका आफन्त हराएको खबर नआएपछि प्रहरीले मृतकहरू भारतका हुनसक्ने भन्दै भारतीय प्रहरीसँग सम्पर्क गरिएको थियो । अन्ततः मृतक दुवै जना भारतका भएको र हत्यामा संलग्न व्यक्ति पनि भारतीय नागरिक नै भएको पत्ता लाग्यो ।

डेढ महिनापछि प्रहरीले निकालेको निष्कर्ष छ, हत्या भएकाहरू भारत मोतिहारी फूलवारी सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाह र भारत विहार सुगांव डीह, सुगौली पूर्वी चम्पारणकी ३० वर्षीया अस्मिता भनिने सन्जु देवी हुन् । उनीहरू दुवैको हत्या सन्जुदेवीका श्रीमान ३३ वर्षीय अखिलेश भगतले गरेका थिए । अखिलेश अहिले भारतको सुगौलीस्थित प्रहरी हिरासतमा छन् । अखिलेशकी श्रीमती सन्जु र भतिज ऋषभ तरकारी र फलफूलको व्यापारका लागि नेपाल आउने–जाने गरिरहन्थे । उनीहरु अन्तिम पटक दशैंको बेला चितवन आएका थिए । उनीहरु भरतपुर बसपार्कको मिलनचोक नजिकै कोठा भाडामा लिएर बसेका थिए ।

मिलनचोकमा अखिलेशकी श्रीमती र भतिज डेरा गरेर बसेको थिए । अखिलेशले उनीहरूको हत्या यही घरको कोठाभित्र गरेका थिए ।
अखिलेशले आफ्नी ३० वर्षीया श्रीमती सन्जु र १९ वर्षीय भतिज ऋषभबीच प्रेम सम्बन्ध रहेको शंका गर्दथे । यो विषयमा उनीहरुबीच बेला–बेला झगडा पनि हुने गरेको थियो । यही क्रममा गत मंसिर २ गते अखिलेशले श्रीमती र भतिजको डेरामै हत्या गरे । त्यसपछि दुई वटा शवलाई दुई वटा अलग–अलग बोरामा प्याक गरे । अनि मंसिर ३ गते साइकलमा लोड गरेर डेरा कोठादेखि करिब ५ सय मिटर टाढा भरतपुर महानगरपालिका वडा नम्बर १२ मा पर्ने मिलनचोकको कल्भर्ट मुनि लगेर फ्याँके ।

मंसिर ६ गते बोराभित्र शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी पुगेर हेर्दा बोराभित्र शव थिए । दुवै शव हातखुट्टा क्रस गरेर बाँधेको, मुखमा टेप लगाइदिएको र घाँटीमा सलजस्तो कपडाले कसेको अवस्थामा थिए । शव उठाएर भरतपुरको सरकारी अस्पतालमा ल्याएर राखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सुरुमा ती शव नेपालीकै हुन सक्ने अनुमान प्रहरीले गरेको थियो । तर मृतकका आफन्त कोही पत्ता लागेनन् । त्यसपछि चितवन प्रहरीले सबै प्रहरी युनिटमा मृतकको स्केच सार्वजनिक गरेर पहिचानका लागि सहयोग मागेको थियो । त्यसपछि पनि शवको सनाखत भएन । अनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको नेतृत्वमा बागमती प्रदेश प्रहरी कार्यालय र चितवन जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सुक्ष्म अनुसन्धान सुरु गरेको थियो ।

सीसीटीभी फुटेजबाट पत्ता लागेको क्लु

प्रहरीले सीसीटीभी फुटेजबाट अनुसन्धान सुरु गरेको थियो । फुटेजमा सन्जु र ऋषभको डेरा नजिकको सडकबाट मंसिर ३ गते एक व्यक्ति राति १२ बजेर ४५ मिनेट जाँदा साइकलमा बोरा लोड गरेर हिँडेका थियो । सोही व्यक्ति राति १ बजेर १२ मिनेट जाँदा फेरि पनि साइकलमा बोरा लोड गरेर हिँडेको देखियो । त्यही फुटेजको आधारमा अनुसन्धान तीव्र पारेको सीआईबीले भारतीय प्रहरीसँग समन्वय गरेको थियो । अन्ततः मृतकको पहिचान पनि भयो र हत्यामा संलग्न व्यक्ति पनि पत्ता लाग्यो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मंसिर २ गते श्रीमती र भतिजको हत्या गरेका अखिलेश मंसिर १६ गते भारत भागेका थिए । प्रहरीका अनुसार अखिलेशमाथि भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्तासम्बन्धी एफआईआर दर्ता थियो । त्यही मुद्दामा उनी पुस १६ गते भारतमै पक्राउ परेका थिए । अखिलेश हाल भारतको केन्द्रीय कारागृह मोतिहारीमा छन् । उनीसँग बयान लिन नेपाल प्रहरीका एकजना डीएसपी नेतृत्वको टोली मोतीहारी नै पुगेर बयान लिएको थियो । वयानको क्रममा उनले श्रीमती र भतिजको हत्या गरेको स्वीकार गरेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए । उनले श्रीमती र भतिजबीच प्रेम सम्बन्ध रहेको र शारीरिक सम्बन्ध समेत हुँदै आएको शंका लागेपछि सहन नसकेर हत्या गरेको बताएका छन् ।

अन्तरदेशीय समन्वय
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन, प्राविधिक विश्लेषण, संकलित सूचना समेतको विश्लेषण गरी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएको प्रहरीले जनाएको छ । ‘भरतपुरमा दिनदहाडै शव भेटिएको घटनाबारे लामो समयसम्म केही कुरा भेट्टाउन नसक्दा निराश जस्तै बनाएको थियो,’ एक अनुसन्धान अधिकृतले भने, ‘तर भारतीय प्रहरीकोसमेत सहयोग भएर केही क्लू भेट्टाएपछि थप अनुसन्धान गर्न सजिलो भयो र हामी सफल भयौं । हत्या गरिएका र हत्यामा संलग्न व्यक्तिको डेढ महिनापछि पहिचान गर्न सफल भएको नेपाल प्रहरीले यसलाई ठूलो उपलब्धिमध्ये एक भएको रूपमा लिएको छ । ‘अन्तरदेशीय अपराधका घटनाको अनुसन्धानमा पाएको यो सफलतालाई उपलब्धिका रूपमा लिएका छौं,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।’

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस